पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार
बाबा फाउण्डेशन नेपालले यस वर्ष सामुदायिक विद्यालयका करीब पाँच सय गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउण्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको शुरुमा नै गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिकासहित कास्की र अन्य जिल्लामा उक्त सहयोग उपलब्ध गराउन लागिएको हो ।
फाउण्डेशनले पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडामा सम्बन्धित वडा कार्यालयको सिफारिशमा १०÷१० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न लागेको फाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले जानकारी दिनुभयो ।बालबालिका र वातावरणका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ २०६५ सालमा स्थापित सो संस्थाबाट हालसम्म एक हजार १०० बालबालिका लाभान्वित भइसकेको फाउण्डेशनका सचिव टङ्कराज अधिकारीले जानकारी दिनुभयो ।न्यूनकतम आवश्यकताको अभावमा विद्यालयको पहुँचमा पुग्न नसक्ने विद्यार्थीलाई कापी, कलम, झोला, विद्यालय पोशाक आदिमा फाउण्डेशनले सहयोग पु¥याउँदै आएको उहाँले बताउनुभयो ।
यसैबीच फाउण्डेशनले आज पोखरा महानगरपालिका–२ स्थित बिन्ध्यवासिनी मावि, वडा नं ५ स्थित धर्मस्थली आधारभूत विद्यालय र बाराही मावि एवम् वडा नं १६ का विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।यसअघि पोखरा महानगरपालिका–३ स्थित कन्या मावि, ४ स्थित नवीन मावि र ७ स्थित श्रीकृष्ण माविमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरिसकेको सचिव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखभित्र महानगरपालिकाभित्र सम्बन्धित वडा कार्यालयको सिफारिशअनुसार सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिनेछ । फाउण्डेशनले वातावरणीय संरक्षणका लागि वृक्षरोपण र फोहर व्यवस्थापनका लागि डस्टबिन वितरण गर्दै आएको छ । त्यस्तै सन् २०१९ सम्ममा पोखरा महानगरपालिकालाई बालमैत्री लक्ष्यलाई सहयोग गर्न फाउण्डेशनले महानगरपालिकाको सहयोगमा प्रत्येक वडामा बाल भेला सञ्चालन पनि गर्दै आएको छ ।
Categorized in राष्ट्रिय


