पाैडेलले हिजाे गर्न नपाएको पुलको उद्घाटन आज गरे
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १८, बिहिबार
पोखरा – नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए ।
बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।
तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।
दोषीलाई कारबाही गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललमाथि अभद्र व्यवहार भएको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेसको संसदीय दलको कार्यालयले आज विज्ञप्ति निकालेर पौडेलमाथि अभद्र व्यवहार गरी पक्राउ गरेको भन्दै भत्सर्ना गरेको छ । शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँले निषेधाज्ञा जारी गरी कांग्रेसका नेता तथा कार्यकर्तामाथि दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधान विपरीत हुने गरी भएको यो घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न कांग्रेसको संसदीय दलले माग गरेको छ । हिजो तनहुँको व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले बल प्रयोग गरी पक्रेको थियो ।
पक्राउ परेको ३ घण्टापछि प्रहरीले उहाँलाई छोडेको थियो । यस्तै, पौडेलले आज प्रहरीको कुटाइबाट आफूलाई थप पीडा बढेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उहाँले हिजोभन्दा आज दुखाइ बढेको भन्दै गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नमिलेको बताएका छन् ।
Categorized in राजनीति

