relans
ni new 83
nib 2082 5

पुल मर्मत नहुँदा जोखिममा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २५, बुधबार

बर्दियाको राजापुर हुलाकी राजमार्गअन्तर्गत बर्दियाको राजापुर र कैलाली जोड्ने कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल मर्मत नहुँदा उच्च जोखिममा परेको छ । गत वर्षदेखि नै पुलको राजापुरतर्फको किनारमा ठूलो प्वाल परे पनि सम्बन्धित निकायले ध्यान नदिँदा पुल उच्च जोखिममा परेको हो । प्रदेश नं ५ र प्रदेश नं ७ लाई जोड्ने पुलको अन्तिम पिल्लरसँगै बनाइएको तटबन्धको तारजाली वर्षेनी भाँसिदै गएको राजापुर नगरपालिका–१ का बासिन्दा प्रभानन्द न्यौपानेले बताउनुभयो । कर्णाली नदीले धार परिवर्तन गरी पानी बग्न थालेकाले पुलको किनारमा ठूलो प्वाल परेको देखिन्छ । उहाँका अनुसार पुलको राजापुरतर्फको दुवै किनारमा नदीले तलबाट कटान गरेर ठूला ठूला प्वाल परेको छ । पुल किनारमा परेका प्वालका कारण सवारी साधनलाई आवतजावतमा समस्या परेको छ । प्वाल परेको ठाउँमा तारजाली राखिएको छ । पुलको उत्तरतर्फ बनाइएको तटबन्ध भत्किने अवस्थामा पुगेपछि पुल उच्च जोखिममा परेको हो । रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि पुल निर्माण गरेपछि गत वर्षसम्म मर्मत गर्दै आएको थियो तर गत वर्षदेखि उक्त कम्पनीको मर्मत गर्ने समय सकिएसँगै यस वर्ष पुलमा परेका प्वाल जस्ताका त्यस्तै छन् । स्थानीयवासीका अनुसार पुल निर्माण भएको एक वर्षपछि नै तारजाली भासिन थालेको थियो । वर्षायाम लागेसँगै नदीमा पानीको सतह बढ्न थालेपछि तारजाली भासिने गरेको बर्दिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार रेग्मीले बताउनुभयो । “नदीमा पानीको सतह बढेसँगै पुलको किनारको तारजाली भासिँदै गएको छ”, उहाँले भन्नुभयो, “गत वर्षसम्म निर्माण कम्पनीले तारजाली भर्दै आए पनि यस वर्ष कसैले ध्यान नदिएका कारण पुल जोखिममा परेको हो ।” स्थानीयवासीले पुल संरक्षणका लागि नदीको बीचमा बनेका साना टापु सफा गर्नुपर्ने माग गर्दै आइरहेका छन् । कर्णाली चिसापानी पुलभन्दा तल कर्णाली नदीको बीचमा सयौँको सङ्ख्यामा टापु छ ।
Categorized in राष्ट्रिय
ppp 2