STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुष्पलाल कम्युनिष्ट आन्दोलनका मार्गदर्शक

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ७, मंगलबार

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल कम्युनिष्ट आन्दोलनका मार्गदर्शक रहेको बताउनुभएको छ । एकचालिसैं पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा व्यास नगर कमिटीद्वारा आज दमौलीमा आयोजना गरिएको कार्यक्रममा उहाँले भन्नुभयो, “पुष्पलालको मार्गदर्शनलाई कम्युनिष्ट पार्टीले अवलम्बन गरेर अगाडि बढ्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको छ ।” नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री चुमानले पुष्पलालको मार्गदर्शनलाई जीवन्त राख्दै कम्युनिष्ट आन्दोलनलाई गतिशील बनाउनु अहिलेको मुख्य कार्यभार हो भन्दै सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न पुष्पलालबाट प्रेरणा लिन आवश्यक रहेको बताउनुभयो । बाम बुद्धिजीवी डम्बरदेव कैनीले कम्युनिष्ट आन्दोलनलाई सार्थक बनाउन पुष्पलालले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । अखिल नेपाल महिला सङ्घ तनहुँका अध्यक्ष मनुमाया श्रेष्ठले पुष्पलालको योगदानलाई चिरस्थायी बनाउन पार्टीका सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । दलित नेता रामलीला सुवर्णकारले सुखी नेपाली समृद्ध नेपाल बनाउन पुष्पलालबाट प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो । पुष्पलाल स्मृति प्रतिष्ठानका जिल्ला अध्यक्ष श्रीप्रसाद भट्टराईले पुष्पलालको आदर्शलाई शिरोधार्य गरेर आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सो अवसरमा जिल्लाका दशवटै पालिकाले वृक्षरोपण, प्रवचनलगायत विविध कार्यक्रम गरी स्मृति दिवस मनाइएको सो पार्टीले जनाएको छ ।
Categorized in राष्ट्रिय