STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पूर्वी तराईमा डेंगु नियन्त्रणमा चुनौती

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार

पूर्वी तराईका जिल्लामा देखा परेको डेंगु नियन्त्रण हुन नसक्दा फैलिएर बिरामीको संख्या बढ्न थालेको छ । 
डेंगु फैलिँदा यसलाई नियन्त्रण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारका स्वास्थ्य निकायलाई चुनौती थपिएको छ । ती निकायबीचमा समन्वय नहुँदा पछिल्लो समय डेंगु फैलिनेक्रम जारी रहेको छ । 
सुनसरीको धरान उपमहानगरपालिका वडा नं १५ का एक बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत वैशाख ३० गते पहिलोपटक डेंगुको सङ्क्रमण पहिचान भएको थियो । डेंगुबाट हालसम्म कसैको पनि मृत्यु नभएको प्रतिष्ठानले जनाएको छ । 
एडिस एजिप्ट जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको सङ्क्रमण अहिले मोरङ, झापा, उदयपुर जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म कति जना डेंगुबाट सङ्क्रमित वा प्रभावित भए रु भन्ने तथ्याङ्क सार्वजनिक गरेको छैन । तर डेंगु नियन्त्रण गर्न प्राविधिक सहयोग जारी राखेको विश्व स्वास्थ्य संगठनका विज्ञ अनुसार हालसम्म डेंगु प्रभावितको सङ्ख्या ४०० भन्दामाथि रहेका छन् । 
सामान्यतया मनसुनपछि डेंगु देखिने भए पनि यो वर्ष प्रि–मनसुनअगाडि नै देखा परेको बताइन् । पानी परेको र गर्मी पनि अत्यधिक बढेका कारण डेंगु फैलिएको हुन सक्ने दाबी चिकित्सकहरुको छ । 
एडिस एजिप्ट जातको लामखुट्टे नियन्त्रण गर्न स्थानीय निकायसित आर्थिक तथा प्राविधिक जनशक्तिसमेत अभाव  देखिएको छ । अहिले प्रदेश, सङ्घीय स्वास्थ्य सेवा तथा प्रतिष्ठानका प्राविधिक जनशक्ति परिचालन गरी फगिङ्ग उपकरणले प्रभावित क्षेत्रमा विषादी छिड्काउ कार्यक्रम निरन्तर जारी राखेको छ । 
के हो डेंगु रु
चिकित्सकका अनुसार एडिस एजिप्ट जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्दछ । एक्कासी रातको समय उच्च जरो आउनु, धेरै टाउको दुख्नु, आँखाको गेडी तथा टाउकाको पछिल्लो भाग दुख्नु, वाक्वाकी लाग्नुलगायतका लक्षण देखा पर्दछ । 
विशेष गरी गर्मीका समयमा सो जातको लामखुट्टे देखा पर्दछ । यसबाट बच्न रातको समयमा झुल ओढेर सुत्ने, घर आँगन तथा वरपर सफा गर्ने, पानी जम्न नदिने गर्नुपर्छ । डेंगु नियन्त्रण गर्न तीनवटै निकायले प्रयास जारी राखेका छन् । तर आशातित सफलता प्राप्त हुन सकिरहेको छैनन् । महाशाखाले डेंगु नियन्त्रण गर्न प्रदेश सरकारलाई रु ८० लाख वजेट विनियोजन गरेको जनाएको छ । विनियोजित रकममध्ये प्रतिष्ठानलाई रु ५० लाख भेन्टिलेटर खरीदमा र रु ३० लाख लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने अभियान सञ्चालनमा खर्च गर्न पाउने छ । 
अर्कोतर्फ स्वास्थ्य क्षेत्रको कर्मचारी समायोजनले पनि डेंगु नियन्त्रण गर्न समस्या परेको छ । महाशाखाका प्रमुख निर्देशक डा विवेक लालका अनुसार अहिले मलेरिया, डेंगु लगायतका किटजन्य रोग नियन्त्रण गर्न भेक्टर कन्ट्रोल निरीक्षक पदका कर्मचारी फाजिलमा रहेका छन् । 
उहाँले भन्नुभयो, “महाशाखाले रोग नियन्त्रण गर्न प्रभावित क्षेत्रमा ९०० डेंगु किट तथा जनशक्ति पठाएको छ । स्थानीय तथा प्रदेश सरकारबाट सहयोग माग भएका क्षेत्रमा सहयोग पनि जारी राखेको छ । ”
यसैबीच, स्वास्थ्य तथा जनसख्या मन्त्रालयले डेंगु रोग परीक्षणका लागि प्रयोग हुने किटको रु ४०० मात्र पर्ने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले यहाँ आज जारी गर्नुभएको विज्ञप्तिमा सो मूल्यभन्दा बढी रु एक हजार ८०० देखि दुई हजार ४०० सम्म लिने गरेको गुनासो मन्त्रालयमा आएको हुँदा यस्तो कार्य नगर्न निजी मेडिकल कलेजलाई आग्रह गर्दै अनुगमनका क्रममा यस्तो कार्य भेटिए कालोबजारीअन्तर्गत कारवाही गरिने जनाइएको छ । 
Categorized in राष्ट्रिय