पृथ्वी दिवसमा अनलाइन कौसीखेती तालिम
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १०, बुधबार
काठमाडौं– बैशाख १० गते पचासौं पृथ्वी दिवसको उपलक्ष्यमा गैर सरकारी संस्था गुथिद्वारा वेविनार मार्फत प्रत्यक्ष अनलाइन कौसी खेती तालिम दिइयो ।
सन् १९७० देखि हरेक वर्ष अप्रिल २२ को दिनमा पर्यावरणीय क्रान्तिका लागि पृथ्वी दिवस मनाइँदै आइरहेको छ । यस वर्षको पृथ्वी दिवसको नारा ‘‘Climate Action’’ रहेको छ । यही नारालाई मनन गर्दै हालको लकडाउनको अवस्थामा भान्छाको फोहोर व्यवस्थापन गर्न र आफैले तरकारी उत्पादन गर्न कौशी खेतीको प्रशिक्षण दिइएको थियो ।
यस तालिम मार्फत घरमै रहेको जैविक फोहोर र आकाशेपानीको प्रयोग गर्दै घर आगनमै तरकारी खेती कसरी गर्न सकिन्छ भन्ने जानकारी दिइएको थियो । भान्छाबाट निस्कने फोहोरको प्रयोग गरेर मल बनाउने र उक्त मल कौशी खेतीमा प्रयोग गरेर खाद्य चक्र पुरा हुनका साथै सहरी हरियालीमा वृद्वि भई जलवायु परिवर्तनको विरुद्वको लडाईंमा पनि यसले टेवा पुर्याउनेछ ।
अनलाईन कौसी खेती तालिमबाट सहभागीहरुले कौसी खेती गर्न चाहिने जानकारी, प्रविधि, घरमा रोप्न सकिने विभिन्न तरकारी बाली, कम्पोष्ट आदिका बारेमा प्रशिक्षण कौशी खेती विज्ञ शेषनारायण महर्जनले दिएका थिए । उक्त तालिममा ८,१५२ सहभागिले जुम एप र फेसबुक लाइभमार्फत सहभागिता जनाएका थिए ।
कार्यक्रमका अतिथि वक्ता पूर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाहले ‘‘सर्वप्रथम कोभिड–१९ को प्रकोप पश्चात हरेक नेपालीले खाद्य उत्पादनमा लाग्नुपर्ने आवश्यक्ता टड्कारोरुपमा महसुस भएको औंल्याएका थिए । नेपालमा अब न त रेमिटेन्स आउँछ न त हामी बाहिरबाट खाद्यान्न खरिद गर्न सक्छौ भन्ने उहाँको जिकिर रह्यो । शाहले भने, “सहरी क्षेत्रमा कौशी खेती मात्र होइन हाइड्रो फोनिक्स र मल्टी स्टोरी फामिङ्गको विकास भइरहँदा यो तालिम निकै उपयोगी भएको छ । हरेक नागरिकले कौसी खेती गरे यसको वहुआयामिक प्रभाव हुन्छ जसले हाम्रो कार्बन फुटप्रिन्ट कम गराउँछ र घर घरको फोहोर व्यवस्थापन हुन्छ ।’’
प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठले कार्यक्रममा बोल्दै पचासौ पृथ्वी दिवसको अवसरमा शुभकामना दिँदै ‘‘कोभिड–१९ का कारण हामीले हाम्रो कार्यशैलीमा परिवर्तन ल्याउन आवश्यक्ता रहेको औंल्याए । जलवायु परिवर्तनका कारण हामीले विभिन्न समस्या भोग्दै आईरहेका छौ र आजको दिनमा पृथ्वीलाई कसरी बचाउने भन्ने विषयमा ध्यान दिन जरुरी रहेको बताउँदै श्रेष्ठले प्रविधिको प्रयोग गरी अनलाइन कौसी खेती प्रशिक्षण सञ्चालन भएकोमा खुसी व्यक्त गरे ।
तालिम कार्यक्रममा बोल्दै गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भने ‘‘कौसी खेतीद्वारा तरकारी आपूर्तिको कमीलाई सहज गर्नु र भान्छाको जैविक फोहोरलाई व्यवस्थापन गरी यसलाई तरकारी उत्पादनमा प्रयोग गराउन प्रोत्साहित गर्नु जरुरी छ । सहरी कौशी खेतीले हरीयालीलाई बढाउन पनि मद्दत गर्छ र पृथ्वीको कार्वन फुटप्रिन्ट घटाउन सहयोग गर्छ । आगामी दिनमा गुथिले कम्पोष्ट मल बनाउने, ई.एम. बनाउने, बाली चक्र आदिको विषयमा थप अनलाईन तालिम प्रदान गर्ने छ ।” अमात्यले घरघरमा कम्पोष्ट विन र विउको व्यवस्था गरी कोभिड पछिको समयमा पनि सहरी खेतीलाई प्रोत्साहन गर्न सरकारसँग माग पनि गरेका छन् ।
Categorized in राष्ट्रिय