STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेप्सी कम्पनीमा श्रमिक आन्दोलित

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १२, आइतबार

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि पेप्सी कम्पनी का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै श्रमिकहरुले अन्तिम पटकका लागि भन्दै यही असोज १४ गतेसम्म विगतमा भएका निर्णय कार्यान्वयन गर्न अन्तिम पटकको अल्टिमेटम दिएका छन् । चरणबद्ध आन्दोलन शुरु गरेका श्रमिकलाई राजनीतिक दल, नागरिक समाजले समर्थन गरेका छन् । श्रम ऐन कार्यान्वयन र निष्काशन गरिएका श्रमिकको पुनःबहालीलगायतको माग राखेर आफूहरुले चरणबद्ध आन्दोलनमा जान बाध्य भएको आन्दोलनरत सामूहिक सौदाबाजी समितिका संयोजक रमेश गौतमले बताउनुभयो । “पटक–पटक यस विषयमा कम्पनीको व्यवस्थापन पक्षसँग सहमति भए पनि कार्यान्वयनमा चासो देखाइएको छैन, दुई वर्षदेखि यहाँ कार्यरत सबै श्रमिकलाई कम्पनीले सप्लायर कम्पनीमार्फत दैनिक ज्यालादारीका रूपमा राखेर काम गराउँदै आएको छ” उहाँले भन्नुभयो । नियुक्तिपत्र बिनै काममा राखिएको भन्दै श्रमिकले रोजगार सम्झौता गरी नियमित रोजगारको नियुक्तपत्र दिएर मात्र काममा राख्न माग गर्दै आएका छन् । “विगत पाँच महीनादेखि नै यहाँ कार्यरत हामी श्रमिक आन्दोलित हुँदै आएका छौँ, कम्पनीले माग सुनुवाइमा चासो दिएको छैन, आन्दोलन गरेको भन्दै कम्पनीले उल्टै ५० श्रमिकलाई निष्काशन पनि गरेको छ” श्रम ऐनबमोजिम कम्पनीमा गठित सौदाबाजी समितिका संयोजक गौतमले भन्नुभयो । श्रमिक राख्दा स्थानीयवासीलाई ग्राहयता पनि नदिइएको उहाँको गुनासो छ । निष्काशन गरिएका श्रमिकलाई तत्काल पुनःबहाली गर्नुपर्ने, श्रम ऐनले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, कम्पनीले सिधै नियुक्ति दिनुपर्ने, बिनाकारण कामबाट निष्काशन गर्न नपाइने, ठेकेदारीप्रथा अन्त्य गर्नुपर्नेलगायतका माग राखेका छन् । श्रमिकको श्रम शोषण गर्ने, अमानवीय व्यवहार गर्ने तथा कुनै पनि बेला निष्काशन गर्ने कार्यले श्रमिक प्रताडित भएको उहाँको भनाइ छ । कम्पनीको व्यवस्थापन पक्षले श्रमिकका माग सम्बोधनमा आलटाल गर्दै आएपछि विभिन्न समयमा राजनीतिक दल, सांंसद, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य सङ्घको पहलमा पटक–पटक माग सम्बोधनका लागि श्रमिक र कम्पनीबीच सहमति भएको थियो । कम्पनीले सहमति कार्यान्वयनमा चासो नदेखाएको भन्दै राजनीतिक दलहरुले श्रमिकको आन्दोलनमा ऐक्बद्धता जनाउँदै चरणबद्ध आन्दोलनप्रति समर्थन जनाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का बुद्धन अलीले बताउनुभयो । नेपाली काङ्ग्रेसका जिल्ला सचिव विक्रम यादवले श्रमिकको समस्या समाधानका लागि श्रमिकले गर्ने चरणबद्ध आन्दोलनमा साथ दिँदै यही असोज १४ गते परासीमा विरोध प्रर्दशनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र सुनुवाइ नभए असोज १७ गते कम्पनीमै अनिश्चितकालका लागि तालाबन्दी गर्ने निर्णय भएको जानकारी दिनुभयो । राजपाका जिल्ला संयोजक मुकुरजी गिरीले सर्वपक्षीयरूपमा पटक–पटक सहमति हुँदा पनि उद्योग प्रशासनले निर्णय कार्यान्वयनमा आलटाल गर्नु विडम्बना भएको बताउनुभयो । समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष अमिरुल्लाह मियाँले श्रमिकले गर्ने चरणबद्ध आन्दोलनमा सबै राजनीतिक दलले साथ दिने निर्णय भएको जानकारी दिनुभयो । उक्त कम्पनीमा कर्मचारी र कामदार गरी ५२० कार्यरत रहेका छन् । आन्दोलनमा उत्रने नेपाली श्रमिकलाई निष्काशन गर्दै कम्पनीले अहिले भारतबाट कामदार ल्याएर काममा लगाएको छ ।
Categorized in राष्ट्रिय