प्रचण्डद्वारा चितवनका बाढी प्रभावित क्षेत्रको निरीक्षण • सौराहाका होटल तथा रेष्टुरेन्टहरु डुबानमा
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २८, आइतबार
चितवन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । आज गृहजिल्ला चितवन पुगेका अध्यक्ष दाहालले बाढीबाट क्षति पुगेका क्षेत्रको निरीक्षण गर्नुका साथै बाढी प्रभावितहरुसँग भेटघाट समेत गरेका छन् ।
भरतपुर महानगरपालिका २७ र २८ को सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले तटबन्धनको काम प्रभावकारी तरिकाले गर्न निर्देशन दिएका छन् ।
सो क्षेत्रमा नदीले ४ मिटर कटान गरिसकेको छ भने तटबन्ध निर्माणको कार्य पनि भइरहेको छ । तटबन्ध निर्माणमा खटिरहेका नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय युवाहरुको कामको उनले प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।
होटल तथा रेष्टुरेन्टहरु डुबानमा
चितवनको रत्नननगर नगरपालिकाको सौराहा क्षेत्रमा खगेरी खोलामा आएको बाढी पस्दा होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् । नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेको नगर प्रमुख नारायण बनले जानकारी दिए।
होटल रेड रूफ, होटल न्यु न्युरो, होटल ग्रीन लज, होटल जंगल प्यालेस, दोभान रेष्टुरेन्ट, संहाती छेउकुना रेष्टुरेन्ट र रत्ननगर नगरपालिका–७ मा रहेको बीगबोस रेष्टुरेन्ट, बेम्बो कटेज रेष्टुरेन्ट र सौराहा सभाहल डुबानमा परेका छन् ।
बाढीले वडा नम्बर ८ मै रहेको सुकुम्बासी टोल र मनोहरा राष्ट्रिय प्रथामिक विद्यालय पनि डुबानमा परेको छ । रत्ननगर–७ मा रहेको रमाइलो डाँडामा अवस्थित झुलुङगे पुलमा पनि बाढीले क्षति पुगेको छ ।
Categorized in राष्ट्रिय