STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेश नं १ मा सबैभन्दा बढी अपाङ्गता मोरङमा

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १७, मंगलबार

प्रदेश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ रहेकामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई दशमलव शून्य आठ प्रतिशत रहेको जानकारी दिइएको छ । त्यसमा महिला ४२ हजार ६८१ र पुरुष ५१ हजार ९५९ छन् । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई विश्वव्यापीरूपमा स्थापना गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र सङ्घले अन्तरराष्ट्रिय अपाङ्गता वर्षका रुपमा घोषणा गरेपछि नेपालमा पनि यो दिवस मनाउन शुरु भएको महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष पार्वता श्रेष्ठले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, व्यक्तिगत स्वतन्त्रता र सामाजिक सुरक्षाजस्ता आधारभूत अधिकारको उपयोगमा विभेद, असमान व्यवहार र अवरोध सिर्जना हुन नहुने बताउँदै उहाँले पछिल्लो समयमा बनेका झण्डै ३७ कानूनमा अपाङ्गता भएका व्यक्तिको सेवासुविधाका बारेमा केही न केही उल्लेख गरिएकाले यसतर्फ राज्यको ध्यान जानुपर्ने बताउनुभयो । उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिमध्ये ८१ दशमलव चार प्रतिशतको स्वास्थ्यावस्था अपाङ्गता नभएका व्यक्तिको तुलनामा निकै दयनीय छ । ती ६१ प्रतिशत विभिन्न प्रकारका मानसिक स्वास्थ्यसम्बन्धी समस्याका शिकार भएको तथा २४ प्रतिशत अपाङ्गता भएका व्यक्ति हिंसा र दुव्र्यवहारको शिकार हुने गरेको जानकारी दिनुभयो । प्रदेश नं १ मा शारीरिक, दृष्टि, श्रवण, दृष्टिविहीन, स्वरबोलाई अपाङ्गता, मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता र बहुअपाङ्गताको तथ्याङ्क नियाल सबैभन्दा बढी मोरङमा १७ हजार ५३, झापामा १५ हजार ३७६, ताप्लेजुङमा तीन हजार ७३० र सोलुखुम्बुमा दुई हजार ६०९ छन् ।
Categorized in राष्ट्रिय