STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ  अध्यक्ष तिमिल्सिना

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न सङ्घीय सरकार सहयोगी बन्नुपर्ने बताउनुभएको छ ।  राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानमा उल्लिखित प्रदेश तथा स्थानीय तहका अधिकार सङ्घीय सरकारबाट नियन्त्रित भए भन्ने गुनासो आउन थालेका छन्, सङ्घ, प्रदेश र स्थानीय तहबीच केही शक्ति टकराव हुन सक्छन्, यसलाई छलफलमार्फत समधान गरिनुपर्छ ।”
संविधानअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्नेमा सिद्धान्ततः कुनै समस्या नभएको अध्यक्ष तिल्सिनाले बताउनुभयो । “अहिलेको परिवर्तित व्यवस्था सक्रिय राजनीतिक दलहरुकै योगदानबाट प्राप्त भएको हो”, उहाँले भन्नुभयो, “त्यसैले सिद्धान्ततः सबैले स्वीकार गरेको यो व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न समन्वय जरुरी छ । त्यसका लागि सहजीकरण गर्न राष्ट्रियसभा तयार छ ।”
अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभामा तीन तहको समन्वयसम्बन्धी विधयेक दर्ता भएको जानकारी दिँदै सो विधेयक पारित भएपछि केही सहज हुने अपेक्षा राख्नुभयो । राष्ट्रियसभा स्थानीय तह, जिल्ला समन्वय र प्रदेशसभाको प्रतिनिधित्व गर्ने सदन भएकाले राष्ट्रिय सरोकार समितिमार्फत सातै प्रदेशमा यस्तो अन्तरक्रिया आयोजना गरिएको जानकारी दिनुभयो । यस्तो कार्यक्रमले तीन तहको समन्वयमार्फत स्थानीय तह र प्रदेशलाई व्यावहारिक रुपमा कसरी बलियो बनाउने भन्ने अनुभव आदानप्रदान हुने उहाँले बताउनुभयो । 
उहाँले राष्ट्रियसभालाई प्रभावकारी बनाउन पनि प्रदेश तथा स्थानीय तहका प्रतिनिधिको सुझाव आवश्यक रहेको औँल्याउनुभयो । एक अर्को प्रसङ्गमा उहाँले राजनीतिक दलहरु मिलेर समाजवादोन्मुख संविधान जारी गरेको बताउँदै यसको कार्यान्वयनमा पनि सबै एक हुनुपर्ने धारणा राख्नुभयो । 
अध्यक्ष तिमिल्सिनाले यही वैशाख १६ गतेदेखि संसद्को अधिवेशन शुरु हुने जानकारी दिँदै अब पनि कानून निर्माणको कामले निरन्तरता पाउने बताउनुभयो । कार्यक्रममा राष्ट्रियसभाअन्तर्गत विपक्षी दलका नेता सुरेन्द्रराज  पाण्डेले अन्तरक्रियाबारे प्रकाश पार्नुभएको थियो भने सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो । 
राष्ट्रियसभाका सदस्य, प्रदेश नं ३ का सभामुख, प्रदेशमन्त्री, उपसभामुख, सांसद, प्रदेश नं ३ अन्तर्गतका स्थानीय तहका प्रतिनिधिलगायत सहभागी कार्यक्रममा संविधानसभा सदस्यद्वय रमेश लेखक र खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय