प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत
Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर १, बुधबार
१ मंसिर, काठमाडौँ - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।
बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग राईले गठबन्धनमा आवद्ध दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताएका हुन् ।
‘केही प्राविधिक कुराहरू मिलाउनुपर्ने छ । हामी संवादमा छौँ । गठबन्धन दलहरूबीच सकारात्मक छलफल भइरहेको छ,’ उनले भने, ‘मन्त्रिपरिषद् विस्तारमा ८/१० दिन लाग्छ ।’
मन्त्रालयको संख्या बढाउने तयारी भइरहेको राईले जानकारी दिए । ‘पहिले नै मन्त्रालयको संख्या बढाउनुपर्ने थियो । धेरैवटा जिम्मेवारी एउटै मन्त्रालयमा छ,’ राईले भने, ‘त्यसैले मन्त्रालय फुटाउने भन्दा पनि विस्तार गर्ने हाम्रो तयारी छ ।’ प्रदेशमा ११ को हाराहारीमा मन्त्रालयको संख्या पुर्याइने उनको भनाइ छ ।
नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच आधा-आधा कार्यकाल प्रदेश सरकारको नेतृत्व गर्ने समहति नभएको उनको दाबी छ । कांग्रेससँग पछि केन्द्रले गर्ने निर्णयलाई मान्ने सहमति भने भएको राईले बताए ।
राईले बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएका थिए । बुधबारको बैठकमा हाल कायम रहेका ९२ सांसदमध्ये ७९ जना उपस्थित थिए । मत विभाजन हुँदा राईको पक्षमा ५० र विपक्षमा २९ मत परेको थियो । प्रदेशसभामा एमालेका ११ सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपाका १ सांसद पनि अनुपस्थित थिए ।
प्रदेशसभामा विपक्षी गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकिकृत समाजवादीका १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक गरी कुल ५० सिट छ । सत्तापक्षका सबै सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरे ।
राईले विश्वासको मत पाएपछि अनिश्चित कालका लागि प्रदेशसभा बैठक स्थगित भएको छ ।
Categorized in राजनीति

