प्रधानन्याधीशविरुद्ध कालोपट्टी बाँधेर धर्ना
Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक २२, सोमबार
२२ कार्तिक, काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनमा कानुन व्यवसायीहरु आज पनि धर्नामा बसेका छन्। कानुन व्यवसायीहरु कालोपट्टी बाँधेर धर्नामा बसेका हुन्।
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सुरु गरेको आन्दोलनलाई निरन्तरता दिएको हो। सोमबारदेखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइएको नेपाल बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए।
महासचिव पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने जनाएका थिए। न्यायपालिकामा रहेको विकृति, विसङ्गति, बिचौलिया तथा भ्रष्ट्राचार नियन्त्रणका लागि भन्दै बारले आन्दोलन गरिरहेको छ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४, १५, १६ र १७ गते सर्वोच्च अदालत केन्द्रित कालोपट्टीसहितको विरोध कार्यक्रम आयोजना गरिएको थियो।
बारले काठमाडौंमा केन्द्रित गरेको आन्दोलनलाई देशभर नै गर्ने तयारी पनि अघि बढाएको जानकारी दिएको छ।
देशभरका बार एकाइका अध्यक्ष, सचिवसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकोले थप विरोधका कार्यक्रम पछि सार्वजनिक गर्ने बारले जनाएको छ। दोस्रो चरणको आन्दोलनको स्वरुपबारे छलफल जारी रहेको जनाइएको छ।
Categorized in राजनीति

