प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा सभागृहमा न्हूदँ मनाइने
Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक ३०, आइतबार
काठमाडौं – नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ ले सामाजिक दुरी कायम गरी नेपाल संवत् ११४१ न्हूदँ (नववर्ष) राष्ट्रिय सभागृहमा मनाउने जानकारी दिएको छ ।
शनिबार एक विज्ञप्ति जारी गरी समितिले कोरोना महामारीको कारण भिडभाड वान्छनीय नरहेकोले नेपालको मौलिक एवं राष्ट्रिय संवत् नेपाल संवत्को नववर्ष सभागृहमा मनाउने जनाएको हो ।
मंसिर १ गते बिहान ९ः३० बजे राष्ट्रिय सभागृहमा भिंतुना सभा हुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायम गरी सीमित व्यक्ति भेला भई प्रधानमन्त्री केपी ओली शर्माको मुख्य आतिथ्यमा भिंतुना सभा हुने भएको छ ।”
समारोह समितिका अध्यक्ष रमेश महर्जनद्वारा जारी विज्ञप्तिमा वर्षेनी बसन्तपुरमा हुँदै आएको भिंतुना सभालगायत यस वर्ष भिंतुना सांस्कृतिक जुलुस नहुने पनि उल्लेख छ ।
विज्ञप्तिमा नेपाल संवत् ११४१ नववर्ष कोरोनामुक्त नवर्ष होस् भनी नववर्षको शुभकामना पनि दिइएको छ ।
Categorized in उपत्यका


