STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री प्रचण्डको निर्देशन– ‘गोङ्गबु घटनाको छानबिन गर्नुस्, लुटपाटमा संलग्नलाई कारबाही गर्नुस्’

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण ३, बुधबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो काठमाडौँको गोङ्गबुमा भएको घटनाको गम्भीररूपमा छानबिन गर्न सुरक्षा अङ्गका प्रमुखलाई निर्देशन दिएका छन्।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर उनले घटनाको गहिरो गरी छानबिन गर्न र अन्यायमा परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले भने, “गोङ्गबुमा सोमबार भएको घटनालाई मैले गम्भीररूपमा लिएको छु । राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीररूपमा लिनुपर्छ । घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस् । लुटपाटको घटना झन गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस् ।”

छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताए। छलफलमा उनीहरूले घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बीच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्रिफिङ गरेका थिए । छलफलका क्रममा उहाँहरूले घटनाको छानबिन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएकोसमेत जानकारी दिए।

प्रधानमन्त्रीकै पहलमा भएको छलफलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, गृहसचिव, प्रधानमन्त्री कार्यालयको तर्फबाट शान्तिसुरक्षा हेर्ने सचिव र सुरक्षा अङ्गका प्रमुख उपस्थित थिए ।

Categorized in राजनीति