प्रम ओलीलाई काङनाम विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि उपाधि
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रजातन्त्रिक गणतन्त्र कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । यहाँ आज आयोजित विशेष समारोहमा सो विश्वविद्यालयका अध्यक्ष शिनिल युनले प्रधानमन्त्रीलाई सो उपाधि प्रदान गर्नुभयो । नेपालको राजनीतिक परिवर्तनका लागि प्रधानमन्त्री ओलीले गर्नुभएको योगदानको सम्मानमा विश्वविद्यालयले उहाँलाई ‘राजनीतिशास्त्र’मा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।
उपाधि ग्रहणपछि प्रधानमन्त्री ओलीले विश्वविद्यालयले प्रदान गरेको उपाधि नितान्त व्यक्तिगत रुपमा आफूलाई गरिएको सम्मान नभई राजनीतिक परिवर्तनका लागि नेपाली जनताले गरेको बलिदानीपूर्ण सङ्घर्षको सम्मान भएको बताउनुभयो । उपाधिका लागि आफू र नेपाली जनताका तर्फबाट धन्यवाद दिँदै उहाँले विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी सबैमा शुभकामना व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “जुन विश्वासका साथ विश्वविद्यालयले सम्मान गरेको छ, त्यो विश्वास तलमाथि पर्दैन, अझ अगाडि बढाइने छ ।”
मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने कार्यले दुवै देशलाई एकार्कालाई सम्मान गर्ने परिपाटीको विकास गर्न झक्झक्याएको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका कुलपति र कामनाङ विश्वविद्यालयको विद्यार्थीको हैसियतले दुवै विश्वविद्यालयको सम्बन्ध विस्तार गर्न आफू लागिपर्ने बताउनुभयो । नेपाल र गणतन्त्र कोरिया तथा दुई विश्वविद्यालयबीच घनिष्ठ सम्बन्ध रहिआएको उल्लेख गर्दै उहाँले आउँदा दिनमा दुई देश र विश्वविद्यालयबीचको सम्बन्ध थप दरिलो बन्ने बताउनुभयो ।
दक्षिण कोरियाले गरेको विकासबाट नेपाल प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै सिक्न सक्ने बताउनुभयो । सही दृष्टिकोण, नीति, सङ्कल्प र प्रयासलाई अगाडि बढाइयो भने छोटो समयमै विकास गर्न सकिन्छ भन्ने कोरियाको उदाहरणबाट पुष्टि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी आफैँ विकास गर्न सक्छौँ, विकासका थुप्रै मोडलमध्ये दक्षिण कोरियाको मोडल पनि उपयुक्त छ, दक्षिण कोरियाको विकासबाट धेरै कुरा सिक्दैछौँ ।”
ऐतिहासिक सभ्यताको हिसाबले नेपाल इतिहासमा निकै अगाडि भए पनि पछिल्लो समय विविध कारणले पछि परेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल केही समय पछि प¥यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकाले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ, अब नेपाल पछि पर्दैन ।”
‘ओलीको नाम राजनेतामा’
विश्वविद्यालयका अध्यक्ष युनले नेपालको राजनीतिक परिवर्तनका लागि प्रधानमन्त्री ओलीले गर्नुभएको सङ्घर्ष र योगदानको सम्मानस्वरुप मानार्थ विद्यावारिधि प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले विश्वविद्यालयले प्रदान गरेको उपाधि सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओली आजदेखि काङनाम विश्वविद्यालयको पूर्वविद्यार्थी सङ्गठनमा आबद्ध हुुनुभएको छ । यो कोरिया र नेपालका लागि गौरवको विषय हो ।”
आफूले १० वर्ष अगाडि प्रधानमन्त्री ओलीलाई भेटेको स्मरण गर्दै अध्यक्ष युनले त्यतिबेला आफूले भेट्दा नेता ओली मुलुकमा राजतन्त्रको अन्त्य गरी मुलुकमा सुशासन, विकास, शान्ति, स्थिरता ल्याउन प्रयाररत रहनुभएको प्रसङ्ग उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीको नाम असल राजनेताका रुपमा लेखिने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयले उपाधि प्रदान गरेसँगै दुई देशबीचको सम्बन्ध तथा काङनाम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्ध सुदृढ, सबल र समृद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
Categorized in राष्ट्रिय


