STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्राइम बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रकम हिनामिना

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १, मंगलबार

काठमाडौं- कास्की प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ८ जना सञ्चालकलाई पक्राउ गरेको छ।

ती सञ्चालकहरूले १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ। यो ठगी गृहमन्त्री रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको भन्दा ठूलो हो।

सूर्यदर्शनले पोखराका १९ हजार बचतकर्ताको १ अर्ब ५३ करोड रुपैयाँ ठगी गरेको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ। सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले बचतकर्ताको उजुरीको आधारमा मंगलबार छानबिनको लागि अनुरोध गरेसँगै कास्की प्रहरीले प्राइम सहकारीका ८ सञ्चालकलाई तत्कालै पक्राउ गरेको हो।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार पक्राउ पर्नेमा सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष ६६ वर्षीय निदेशप्रसाद कोइरालालगायत छन्।

यस्तै सहकारीका व्यवस्थापक निरू थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनील थापा र सहकारीका सल्लाहकार मानबहादुर गुरुङ पनि पक्राउ परेका छन्।

प्रहरीले मंगलबार नै सार्वजनिक सूचना जारी गर्दै सो सहकारीबाट पीडितहरूलाई जेठ २० गतेसम्म उजुरी दिन अनुरोध गरेको थियो।

Categorized in बिजनेस