STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्राधिकरणका ज्ञवाली दक्षिण कोरियातर्फ

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १६, सोमबार

शहरी क्षेत्रको पुनःनिर्माणका सम्बन्धमा प्रस्तुति दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ । विश्व पूर्वाधार सहयोग सम्मेलन ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेशन कन्फरेन्स मा काठमाडौँ उपत्यकाभित्रका सम्पदा बस्तीको गुरुयोजना, कार्यान्वयन ढाँचा र वित्तीय आवश्यकतामा केन्द्रित भई उहाँले प्रस्तुति गर्नुहुने प्राधिकरणले जनाएको छ । सम्मेलन भदौ १७ र १८ गते हुनेछ । सम्मेलनमा विश्वका विभिन्न मुलुकले शहरी क्षेत्र एवं पूर्वाधार विकासका सम्बन्धमा प्रस्तुतिसहित छलफल गर्नेछन् । सरकारले काठमाडौँ उपत्यकाभित्रका साँखु, बुङमती र खोकनासहितका ६ वटा बस्तीलाई परम्परागत बस्तीका रुपमा घोषणा गरी प्राधिकरणमार्फत बृहत्तर गुरुयोजना तयार पार्दैछ । ती बस्तीको ऐतिहासिकता र मौलिकता बचाउन निजी आवास पुनःनिर्माण गर्न प्राधिकरणले प्रति लाभग्राही रु तीन लाखका अतिरिक्त थप रु ५० हजार उपलब्ध गराएको छ । भूकम्प प्रभावित क्षेत्रमा ६० वटा परम्परागत बस्ती पहिचान गरिएको छ । शहरी योजनाका विज्ञसमेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्पदा बस्तीसँग जोडिएका क्षेत्रमा हुन लागेको नयाँ शहर विस्तारबारे पनि प्रस्तुति गर्नुहुनेछ । सम्पदा बस्तीको गुरुयोजना तयारी तथा कार्यान्वयनमा आवश्यक पर्ने लगानी जुटाउने सम्बन्धमा समेत छलफल हुने उहाँले बताउनुभयो । दक्षिण कोरियाको भूमि र विदेश मामिला मन्त्रालयको सहयोगमा इन्टरनेशनल कन्ट्र्याक्टर एसोसिएशन कोरियाले कार्यक्रम आयोजना गरेको हो । ज्ञवालीका साथमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन० का आयोजना निर्देशक नवराज प्याकुरेल, विकास सहायता समन्वय शाखाप्रमुख दिव्यराज पोखरेललगायत हुनुहुन्छ । सम्मेलनमा भाग लिई उहाँ भदौ २० गते स्वदेश फर्किनु हुने कार्यक्रम छ ।
Categorized in राष्ट्रिय