STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कार, एमएमा उत्कृष्ट हुने छात्रा पुरस्कृत

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १७, सोमबार

ललितपुर - बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्ने हो भने पुस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । 

नेपालभाषा केन्द्रीय विभागको ५४ औं स्थापना दिवसका अवसरमा आयोजित बैकुण्ठ एवम् चैन लाकैल पुरस्कार प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री खड्गीले उपत्यका सांस्कृतिक नगरी भएकोले यहाँको मूर्त अमूर्त सम्पदा हरहालतमा बचाइराख्नु पर्ने मान्यताका साथ आफू काठमाडौं महानगरपालिकाको उपमेयर रहेको समयदेखि लागिराखेको र अहिले पनि आफ्नो मन्त्रालयको तर्फबाट हुने र सक्नेजति सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा नेपालभाषा, साहित्य र समालोचना विधामा महत्वपूर्ण योगदान दिनुहुने प्रेमशान्ति तुलाधरलाई बैकुण्ठ लाकौल पुरस्कार प्रदान गरिएको थियो । 

यसैगरी नेपालभाषा केन्द्रीय विभागमा अध्ययन गर्ने महिला विद्यार्थीहरुको प्रोत्साहनको निम्ति स्थापना गरिएको चैन लाकौल पुरस्कार तीनजनालाई प्रदान गरिएको छ । नेपालभाषा स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने महिला विद्यार्थीलाई प्रदान गरिने पुरस्कार प्राप्त गर्नुहुनेहरुमा कुष्णप्यारी श्रेष्ठ, पद्मा खयरगोली र रजनी श्रेष्ठ रहनुभएको छ ।

नेपालभाषा केन्द्रीय विभागका प्रमुख सह प्रा. राजनलाल जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै जोशीले नेपालभाषा केन्द्रीय विभागमा विभिन्न विषयमा अनुसन्धान भइराखेकोले बागमती प्रदेशले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिइसकेको अवस्थामा भाषा जानेको जनशक्ति आवश्यक परेमा आफूले सहयोग गर्ने बताउनुभयो । 

गत मन्तव्यकै क्रममा उहाँले दिवंगत नेपालभाषा शिरोमणी बैकुण्ठप्रसाद लाकौलको तर्फबाट उहाँको परिवारमार्फत निरन्तर प्राप्त भइरहेको सहयोगको प्रशंसा गर्दै नेपालभाषा अध्ययन गर्ने महिला विद्यार्थीलाई प्रोत्साहनस्वरुप चैन लाकौल पुरस्कारको स्थापना भएकोमा आभार प्रकट गर्नुभयो 

सोही कार्यक्रममा पुरस्कारका दाता बैकुण्ठप्रसाद लाकौलाका सुपुत्र श्रीकण्ठ लाकौलले बैकुण्ठ लाकौल र  चैन लाकौल पुरस्कारको लागि अक्षय कोषको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा नेपालभाषा केन्द्रीय विभागका प्रमुख संस्थापक प्रा.डा. सुन्दरकृष्ण जोशी, पाटन क्याम्पसका प्रमुख लक्ष्मणसिंह कुँवर र पुरस्कार प्राप्त गर्नुहुने प्रेमशान्ति तुलाधरले  पनि आफ्नो मन्तव्य राख्नुभएको थियो भने उप प्रा. जीवनकुमार महर्जनले तुलाधरको विषयमा प्रकाश पार्नुभएको थियो । 

स्रोत : नेपालभाषा समाचार केन्द्र

Categorized in उपत्यका