STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फुटपाथ व्यवस्थित गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ५, मंगलबार

हेटौँडा उपमहानगरपालिकाले तिहार तथा छठ पर्वका लागि बजार क्षेत्रमा लाग्ने फुटपाथ बजारलाई व्यवस्थित गर्ने भएको छ । फुटपाथ व्यवस्थित गर्न उपमहानगरले पाँच स्थानमा मात्रै फुटपाथ पसल सञ्चालन गर्न पाउने निर्णय गरेको छ । मुख्य बजार क्षेत्रमा बजार लाग्दा सवारी आगमनमा समस्या भई दुर्घटनाको सम्भावना बढ्ने भएपछि यस्तो निर्णय गर्नुपरेको नगरपालिका कार्यालयले जनाएको छ । तिहार तथा छठपर्वमा व्यस्त सडकछेउमा लत्ताकपडा, फलफूल तथा अन्य सामग्री राखेर व्यापार गर्ने चलन रहदै आएको छ । त्यसका कारण पैदलयात्रीको आवागमन प्रभावित हुने तथा पैदलयात्रीले सडकबाटै यात्रा गर्नुपर्ने बाध्यता हुने र दुर्घटनासमेत हुने अवस्थाको अन्त्य गर्न निश्चित स्थानमा मात्र पसल सञ्चालन गराउने निर्णय गरिएको हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले बताउनुभयोे । उहाँका अनुसार अब त्यस्ता पसल सञ्चालकले हेटौँडाको राप्ती रोडको ब्लड बैंक भवनदेखि पश्चिमतर्फ हेटौँडा अस्पतालको पर्खाल बाहिरको जमीन, वाइपासबाट बसपार्क छिर्ने स्थान नजिक सुमार्गी कम्प्लेक्सको दक्षिणतर्फ रहेको जमीन, भुटनदेवी माविको भित्री कम्पाउण्ड, पल्पसा सभाहलको भित्री परिसर र बसपार्कको रेष्ट गार्डेनको पर्खालसँगैको बाहिरी पर्खाल वरिपरिको पेटी गरी पाँच स्थानबाट मात्र पसल सञ्चालन गर्न पाउनेछन् । उहाँका अनुसार पार्किंङ् व्यवस्थापनलाई सहज बनाउन चाडपर्व अवधिभर हेटौंँडा अस्पताल छिर्ने चाइनागेट अगाडि रहेको एम्बुलेन्स तथा सवारी पार्किङस्थललाई चाइना गेट अगाडिको सडक विभाग तर्फको खुल्ला जमीनमा स्थानान्तरण गर्ने निर्णय समेत भएको छ ।
Categorized in राष्ट्रिय