STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बकर इद पर्व मनाइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २६, आइतबार

 मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेन नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान बलि दिने विधान रहेको बताउनुहुन्छ । “बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ”, उहाँले भन्नुभयो । घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सोमबार बिहान ८ बजे नै नमाज पढ्ने कार्यक्रम छ । यस पर्वका अवसरमा प्रदेश नं २ र ५ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरिसकेका छन् । हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो । “अल्लाहको आदेश इब्राहिमलाई तेरो नजीकको प्यारो चीज कुर्वान ९बलिदान० दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो”, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उहाँले भन्नुभयो । मुस्लिम धर्म गुरु ९मौलाना० रहमत अली ऐतिहासिक बकर इद पर्वका आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो । “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उहाँले भन्नुभयो । इद सोमबारदेखि बुधबारसम्म तीन दिन मनाइन्छ । बुधबार सूर्यास्तअघि नै मुस्लिम धर्मावलम्बीले बलि ९कुर्वान० दिनुपर्ने धार्मिक विधान छ ।
Categorized in राष्ट्रिय