STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बगरखेतीको भरमा बाढीपीडित

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

विसं २०६५ मा दोदा नदीमा लालझाडी गाउँपालिका–४ खल्लाजाइका करीब ३०० परिवार विस्थापित भए । दोदा नदीमा आएको बाढीबाट विस्थापित भएका अझै पनि गाउँको उत्तरतर्फ रहेको लालझाडी सामुदायिक वन क्षेत्रमा आश्रय लिइरहेका छन् । नदीले घरखेत कटान गरेपछि सामुदायिक वन ९डाँगाजाइ० मा बस्दै आएका बाढीपीडित दोदा नदीमै बगरखेती गरेर परिवारको खर्च टारिरहेका छन् । “दशकअघि उही दोदा नदीले उठिबास लगायो”, डाँगाजाइका स्थानीय निर्मलादेवी रानाले भन्नुभयो, “अहिले त्यही नदीको बगरको परिश्रमले बाँचेका छौँ ।” बाढीका बेला सामान्य राहतबाहेक सरकारबाट कुनै सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो । “वन छेउछाउमा ओत लागेर बसे पनि दैनिकी बगरमा तरकारी फलाएर बेच्नेछ”, रानाले भन्नुभयो, “सडकको समस्याले तरकारी अन्यत्र निर्यात गर्न सकिरहेका छैनौँ ।” निर्मलादेवी जस्तै राना थारु बाहुल्य रहेको डाँगाजाइका प्रायः स्थानीयवासीको आम्दानीको स्रोत नै बगरखेती रहेको छ । कञ्चनपुरकै भौगोलिकरुपले विकट क्षेत्रमा पर्ने उक्त क्षेत्रमा अझै पनि सडक सञ्जाल विस्तार हुन सकेको छैन । दोदा नदीमा तीन वर्षअघि निर्माण शुरु भएको पक्की पुल नबन्दा यहाँका स्थानीयवासी बढी मारमा छन् । तीनतिर बगर र उत्तरतर्फ सामुदायिक वन छ । रानाले भन्नुभयो, “वर्षात्का बेला त बैलगाडामा बिरामी अस्पताल पु¥याउन पनि सकिँदैन ।” केही वर्षअघि विभिन्न दाताले गाउँमा तरकारी उत्पादनका लागि तालीम दिएपछि यहाँका अधिकांश स्थानीयवासी बगरखेतीतर्फ व्यावसायिकरुपमा लागेका हुन् । “हाम्रो त रोजगारीको प्रमुखस्थल नै नदीको बगर हो”, मधोवरदेवी रानाले भन्नुभयो, “बगरमा राम्रोसित मेहनत गरे रु एक लाखभन्दा बढी वार्षिक बचत गर्न सकिन्छ ।” सरकारी पहुँचभन्दा टाढा रहेको उक्त गाउँमा वडा कार्यालय, निमावी तहको विद्यालय र स्वास्थ्य क्लिनिकबाहेक अरु केही पनि छैन । “एक किलो चामल किन्न परे पनि घण्टौँ हिँडेर पसल जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “बगरमा फलाएको तरकारीसमेत बिक्रीका लागि बाहिर लग्नसक्ने अवस्था छैन ।” उत्पादित तरकारी गाउँमै खपत गर्नुपर्ने अवस्था तरकारी किसानमाझ रहेको छ । “गाउँमै फेरीको व्यापार जस्तै तरकारी डुलाउँदै बिक्री गर्छौं”, उहाँले भन्नुभयो, “तरकारीको कमाइले परिवारको छाक टरेको छ ।” बाढीले डेढ बिघा जमीन कटान गरेर लगेपछि सामुदायिक वनमा कच्ची घर बनाएर परिवारसहित बस्दै आएका मधोवरदेवीले बगरको कमाइले नै छोरा छोरीलाई स्नातकसम्मको अध्ययन गराइरहेको बताउनुभयो । त्यसैगरी लालझाडी गाउँपालिका– ४ का वडा सदस्य गर्भु रानाले किसानको बाहुल्यता रहेको डाँगा जाइको सुविधाका लागि कृषि सडक हुनुपर्ने बताउनुभयो । “बाढीबाट विस्थापित ३०० परिवारमध्ये अधिकांश जङ्गलमै बस्छन्”, उहाँले भन्नुभयो, “बगरका भरमा स्थानीयले जोहो गरे पनि यहाँको प्रमुख समस्या नै सडक सञ्जाल विस्तार हुन नसक्नु हो ।” उहाँले बाढीपीडितलाई पुनःस्थापनाका लागि पहल सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।
Categorized in उपत्यका