STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बगरफाँट बस्ती संरक्षण आयोजना शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार

म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना शुरु भएको छ । 
रूपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको रु ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करीब दुई किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटबन्ध गर्न लागिएको हो ।
सङ्घीय सांसद भुपेन्द्रबहादुर थापाको पहलमा रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले बगरफाँटको बस्ती संरक्षणका लागि डिपीआर विस्तृत आयोजना प्रतिवेदन तयार गरी एक वर्षभित्र काम सम्पन्न गर्ने गरी संरक्षण आयोजनाको काम शुरु भएको बगरफाँट, म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । 
अध्यक्ष कार्कीका अनुसार यस वर्ष नदी कटानबाट अति प्रभावित क्षेत्र जरुवादेखि डम्मराको पुलसम्म ४०० थान जाली भर्ने योजना रहेको छ । विगत तीन दिनदेखि दैनिक २६ मजदूरहरुले ग्याविन लगाउने काम गरिरहेका छन् । विसं २०५७ मा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रूपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षहरुमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी भएको थिएन । 
करीब दुई सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको स्थानीयले बताएका छन् । गत वर्ष स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रु १० लाखबाट नदीजन्य वस्तुहरुको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिव मन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
अध्यक्ष कार्कीका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका–६ डम्मराका बासिन्दाहरुको आपसी सहमतिमा म्याग्दी नदीको करीब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्य वस्तु ढुङ्गा, गेगर, वालुवा आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो ।
नदीले बगरफाँटको करीब १५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिव मन्दिर क्षेत्र, पलाँसे र जरुवा उच्च जोखिममा परेका छन् । बगरफाँट सदरमुकाम बेनी बजारसँगै जोडिएको कृषिका लागि उर्बर फाँट भएको गाउँ हो । 
Categorized in राष्ट्रिय