बटुवाको प्यास मेटाउन काठमाडौँ महानगरका पाँच स्थानमा जरुंहितिको रुपमा वाटर एटिएम
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ २९, बिहिबार
काठमाडौं उपत्यकाका तीन शहर लगायत नेवारहरुको बाहुल्यता रहेका स्थानहरुमा बाटो हिंड्ने बटुवाहरुकालागि पिउने पानीका लागि जरुंहिटी अर्थात् जलद्रोण राखिएको हुन्थ्यो भने यसै जरुंहिटी को नाममा आज खानेपानी मन्त्री मणिचन्द थापाले ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ’ भन्ने नारालेखिएको बोर्डसँगै काठमाडौँ महानगरपालिकाका तीन विभिन्न स्थानमा वाटर एटीएमको उद्घाटन गर्नु भएको छ । सुरुमा रत्नपार्क परिसरमा शंखधर उद्यानको प्रवेशद्वार र त्यसपछि स्वयम्भूमा वाटर एटीएमको उद्घाटन पछि बालाजु पुग्नु भएका मन्त्री थापाले उद्घाटनपछि ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का हाल्नुभयो ।
सिक्का हालेपछि ‘वाटर भेन्डिङ मेसिन’ बाट काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डको लोगो भएको दुई वटा कपमा चार सय मिलिलिटर पानी भरियो । मन्त्री थापाले एक कप पानी सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरलाई दिनुभयो र एक कपचाँहि आफूले पिउनुभयो । पानी पिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री थापाले आधुनिक प्रविधिसँग जोड्दै काठमाडौँ महानगपालिकासँगको सहकार्यमा पहिलो पटक ‘वाटर भेन्डिङ मेसिन’को उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । रत्नपार्कको ‘वाटर भेन्डिङ मेसिन’ उद्घाटनमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पनि सहभागी हुनुहुनन्थ्यो ।
मन्त्री थापासँगै रहनुभएका राज्यमन्त्री मानन्धरले पनि आफ्नो निर्वाचन क्षेत्र र त्यसमा पनि ऐतिहासिक, साँस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले एउटा महत्वपूर्ण स्थल बालाजु उद्यानकै प्रवेशद्वारमा आधुनिक प्रविधिको वाटर एटीएम उद्घाटन गर्दा खुशी लागेको बताउनुभयो ।
मन्त्रीद्वयसँगै रहनु भएका खानेपानी सचिव माधव बेल्बासेले पनि छिट्टै राजधानीका १५ स्थानमा यो लागु गर्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले पनि काठमाडौँ महानगरवासी र बटुवाहरुलाई सहज र सुलभ तरिकाले पानीको प्यास मेटाउन फरक–फरक सार्वजनिक स्थलहरुमा सुपथ मूल्यमा स्वच्छ सफा पिउने पानी उपलब्ध गराई मानवमैत्री सहरको रुपमा काठमाडौँलाई परिचित गराउने उदेश्यले यसको थालनी गरेको जानकारी दिनु भएको छ । काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपध्यक्ष सरोज बस्नेतले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डसँगको सहकार्यमा महानगरपालिका क्षेत्र भित्रका पाँच स्थानमा वाटर एटीएम रहने र त्यसका लागि महानगरपालिकाले स्थान उपलब्ध गराएको छ भने व्यवस्थापन बोर्डले नै गर्नेछ भनि भन्नु भयो ।
कुनै समय परम्परागत रुपमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जरुंहिति रहेको र ती धारामा बटुवाहरुले पानीको प्यास मेटाउने गरेको गरेको इतिहाससँग जोडेर महानगरपालिकाले बोर्डसँगको सहकार्यमा स्थापना भएका वाटर एटीएमलाई जरुंहिति नामकरण गरेको जानकारी दिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बाेर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले करीब २ करोडको लगानीमा उपत्यकाका १५ स्थानमा यस्तो मेसिन राख्ने तयारी स्वरुप पहिलो चरणमा तीन स्थानको उद्घाटन गरेको बताउनुभयो । उहाँले प्रत्येक वुथमा करीब १५ लाख लगानी रहेको पनि जानकारी दिनुभयो ।
Categorized in उपत्यका

