STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बधशालामा झिँगा र कीरा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २७, सोमबार

भक्तपुर नगरपालिकाले आज नगरभित्र विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका बधशालाको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अधिकांश बधस्थल फोहर, अव्यवस्थित र उपभोक्ताको स्वास्थ्यमा जोखिम पर्ने अवस्थामा रहेका पाइएको छ । टोलीले महेश्वरीस्थित महेश्वरी सप्लायर्स र जय महेश्वरीमा बधस्थलको अनुगमन गर्दा दुवैले दर्ता नवीकरण नगरेका, हाडखोर थुपारेको ठाउँमा कीरा परेर दुर्गन्धित भएको, राँगा राख्ने ठाउँ धेरै फोहर भएको, राँगाको मललगायत भित्री मासु सफा गरेको फोहर खोलामा हालेको पाइएको छ । साथै मासु राख्ने फलामको टेबुल खिया परेको, ढक तराजु नवीकरण नगरेको, मासु काट्ने औजार खिया लागेका प्रयोग भएका पाइएकाले उक्त औजार नियन्त्रणमा लिएर व्यवस्थित गर्न निर्देशन दिइएको अनुगमन टोलीका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । त्यस्तै न्यू महेश्वरी हाइजेनिक मिट सपमा सरसफाइमा ध्यान नदिइएको, राँगा राख्ने ठाउँमा सरसफाइ नगरेको, मासु जालीले नछोप्दा झिँगा भन्किएका, खिया परेको फलामको टेबुल प्रयोग गरिएको, बधस्थल दर्ता नवीकरण नगरेको पाइएको तथा मासु बिक्री कक्षमा आल्मुनियमले कोठा बनाई झिँगा र फोहर कीराबाट सङ्क्रमित हुन नदिने व्यवस्था गर्न निर्देशन दिइएको छ । त्यस्तै वडा नं ७ पुरानो कम्पोष्ट प्लान्टमा रमेश शाहीले सञ्चालन गरेको बधस्थल अनुगमन गर्दा वधस्थल दर्ता नगरेको, हाडखोर थुपारेको ठाउँ दुर्गन्धित भएको, मासु डिफ्रिजमा राखी सुरक्षित नगरेको, भुइँमा खाल्डाखुल्डी भएकाले सफा गर्न मिल्ने गरी प्लाष्टर, मार्बल राखी व्यवस्थित नगरेको पाइएको छ भने एक थान तराजु नियन्त्रणमा लिइएको निरीक्षक प्रजापतिले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय