STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बन्ने भयो साढे एक हजार दलितको घर

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २१, सोमबार

जनता आवास कार्यक्रमअन्तर्गत सप्तरी र सिरहाका करिब साढे एक हजार दलितको पक्की घर निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आवको असारभित्र सप्तरी र सिरहामा एक हजार ४३२ पक्की आवास निर्माण हुन लागेको सहरी विकास तथा भवन कार्यालय राजविराजले जनाएको छ । सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा सञ्चालित कार्यालयका प्रमुख कृष्णदेव झाले डोम र मुसहरका लागि सप्तरीमा ६६६ र सिरहामा ७६६ वटा पक्की आवास निर्माण हुने जानकारी दिनुभयो । बार्दलीसहित दुईकोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ । घरसँगै शौचालय निर्माणका लागि थप रु १० हजार उपलब्ध गराइने कार्यालय प्रमुख झाले बताउनुभयो । डोमको बसोबास खासगरी ऐलानी, पर्ती, नहर तथा सडक डिल र अरूको निजी जग्गामा रहेकाले घर निर्माण प्रक्रियामा व्यावहारिक कठिनाइ रहेको छ । स्थानीय तहले जग्गा व्यवस्थापन नगरेसम्म घर निर्माण सम्भव नदेखिएकाले सप्तरी जिल्लाका १८ वटै स्थानीय तहलाई जग्गा व्यवस्थापनबारे कार्यालयले पत्राचार गरेको छ । “स्थानीय तहले जग्गाको सिफारिस गर्नासाथ तत्कालै निर्माण कार्य अगाडि बढ्नेछ”, कार्यालय प्रमुख झाले भन्नुभयो, “घर निर्माण गर्न बजेट निकासा भइसकेकाले स्थानीय तहको सिफारिस चाँडै आएमा असार मसान्तभित्र पक्की घर निर्माण कार्य सम्पन्न हुनेछ ।” कतिपय स्थानीय तहले जग्गाको प्रक्रिया अगाडि बढाएको समेत उहाँले बताउनुभयो । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायका लागि प्रत्येक वर्ष २० हजार आवास निर्माण गर्ने लक्ष्यका साथ शुरु भएको जनता आवास कार्यक्रममा १० वर्षको अवधिमा करिब २० हजार घर निर्माण भएका छन् । आवासहीनलाई घर उपलब्ध गराउने उद्देश्यले २०६६÷६७ मा कार्यक्रम शुरु भएको थियो । सिरहा, सप्तरी र कपिलवस्तुबाट प्रतिवर्ष एक÷एक हजार घर निर्माण गर्ने लक्ष्यका साथ थालिएको जनता आवास कार्यक्रम हाल सबै जिल्लामा विस्तार भएको छ । तराईका विपन्न डोम, मुसहरलगायतका दलित र विपन्न मुस्लिमका लागि भनेर थालिएको जनता आवास कार्यक्रम पहाडका दलित दमाईं, कामी, सार्कीका साथै लोपोन्मुख, सीमान्तकृत कुसुण्डा, राउटेलगायत जातिका लागि लक्षित गरिएको छ । उक्त कार्यक्रमबाट तराईमा प्रतिजिल्ला २०० देखि १० हजार र पहाडमा ५० देखि १०० जनता आवास एकाइ बनाउने योजना छ ।
Categorized in राष्ट्रिय