STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बसन्तपुर क्षेत्रबाट निर्माण सामग्री तत्काल हटाउन मन्त्री श्रेष्ठको निर्देशन

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १४, मंगलबार

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्।

यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत बाधा पुगेकोले त्यस्ता सामग्री तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन्।

इन्द्रजात्राको तयारीबारे बुझ्न मंगलबार हनुमानढोका दरबार क्षेत्र निरीक्षणमा गएका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वको हनुमानढोका दरबार क्षेत्र व्यवस्थापनमा ध्यान दिन हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, नेपाल प्रहरी, नेपाली सेना, पुरातत्व बिभाग र स्थानीय संघसंस्थालाई आग्रह गरे।

नेपालीको गौरवका रूपमा रहेको हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका सामग्रीले इन्द्रजात्रा लगायत महत्वपूर्ण जात्राहरू व्यवस्थापनमा समेत चुनौती सिर्जना हुने उनको भनाइ छ।

सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र भुकम्पका कारण क्षतिग्रस्त भएपछि अहिले पुर्ननिमार्णको काम भइरहेको छ। मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्रलाई सुन्दर, सफा र व्यवस्थित गर्नुपर्नेमा जोड दिए। ऐतिहासिक र पुरातात्विक महत्व बोकेको बसन्तपुर क्षेत्रलाई व्यवस्थित गर्न र संरक्षणमा स्थानीय संघ संस्था तथा सम्बन्धित निकायले समन्वय र सहकार्य गरी काम गर्न उनले निर्देशन दिए।

अहिले बसन्तपुरमा इन्द्रजात्राको तयारी तीव्र पारिएको छ। आठ दिन चल्ने इन्द्रजात्रा अवधिभर वसन्तपुर क्षेत्र उत्सवमय हुने गरेको छ। सो अवसरमा इन्द्रजात्राको तयारीबारे पनि छलफल भएको थियो।

Categorized in उपत्यका