बसपार्कका पसलहरुमा महानगरपालिकाको सिलबन्दी
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ४, शनिबार
लामो समयदेखि बिना सम्झौता सञ्चालन भैरहेका पुरानो बसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ ओटा पसललाई काठमाडौँ महानगरपालिकाले सिलबन्दी गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि शिलबन्दी गरेको जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका राजश्व बिभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघ मार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि सिलबन्दी गर्न बाध्य भएको जानकारी दिनुभयो ।
उहाँले काठमाडौँ महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको पनि जानकारी दिनुभयो । नगरप्रहरी प्रमुख धनपती सापकोटाले पनि उहाँहरुलाई पटक–पटक सूचना दिदाँ पनि नहटाएपछि प्रहरी र नगरप्रहरीले सिल गरेको जानकारी दिनुभयो । पसल सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई समातेको थियो ।
Categorized in उपत्यका

