STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाँझो जग्गामा व्यावसायिक कफीखेती

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २२, बुधबार

बसाइँसराइका कारण गाउँमा बाँझो रहेका जमीनको सदुपयोग गर्दै आयआर्जन बढाउने भन्दै यहाँको एक सहकारीले व्यावसायिक कफीखेती शुरु गरेको छ । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवामा रहेको साना किसान कृषि सहकारी संस्थाले बाँझो जमीनमा कफीखेती गर्न थालेको हो । तत्कालका लागि सर्कुवामा रहेको २५ रोपनी जमीनमा कफीका बिरुवा लगाइएको छ । सहकारीको कार्यक्षेत्रभित्र रहेका सबै बाँझो जग्गालाई सदुपयोग गरी व्यावसायिक कफी उत्पादन गर्ने अभियान थालिएको सहकारीका अध्यक्ष लीलादेवी थापाले बताउनुभयो । गाउँ छोडेर तराईका भू–भाग तथा शहर बजारमा बसेकाबाट सहकारीले प्रतिरोपनी प्रतिवर्ष एक हजार २०० रुपैयाँका दरले भाडा उपलब्ध गराउने गरी जग्गा लिएको छ । बीस वर्षका लागि जग्गा सदुपयोग गर्ने सम्झौता गरेर कफीखेती थालिएको थापाले बताउनुभयो । पहिलो वर्ष भएकाले स्थानीय किसानले उत्पादन गरेका कफीका बिरुवा सरकारी दररेटका आधारमा खरीद गरेर सहकारीले बाँझो खेतबारीमा लगाएको छ । “अहिले हामीले २५ रोपनी जमीन लिएका छौँ, यो शुरुआत मात्रै हो”, अध्यक्ष थापाले भन्नुभयो, “यो अभियानलाई वडाभरिका बाँझो जमीन प्रयोगमा आउने गरी सशक्त बनाउँछौँ ।” आगामी वर्ष आफ्नै नर्सरी बनाएर बिरुवा उत्पादन गरेपछि थप क्षेत्र बिस्तारको काम गरिने थापाले बताउनुभयो । सहकारीका शेयर सदस्यले नै कफीका बिरुवा रोपेका हुन् । “हामी सामूहिकरुपमा खेती गर्छौं र उत्पादनको उपयोग पनि सामूहिक हुन्छ”, थापाले भन्नुभयो “अभियानमा सबैले सघाउने हुनुभएको छ ।” बजारका कफीको माग उच्च रहेकाले व्यावसायिक उत्पादनका लागि अभियान थालिएको हो । सहकारीले कफीखेती गर्न थालेको भू–भाग कफीका लागि उपयुक्त मानिन्छ । सहकारीले थालेको यो अभियानमा स्थानीय सरकारले पनि सहयोग गर्ने भएको छ । “आफ्नो ठाउँमा अवसर नदेख्नेलाई व्यावसायिक खेती उदाहरण हुन सक्छ”, जैमिनी नगरपालिका–४ का वडाध्यक्ष चक्र थापाले भन्नुभयो, “उहाँहरुलाई हामी हौसला प्रदान गर्छौं, यो हाम्रा लागि राम्रो शुरुआत हो ।” सहकारीले खेतीको क्षेत्र विस्तार गरेर रोजगारीको सिर्जना गर्ने सोचसमेत बनाएको छ । “हामीले लगाएको कफीले उत्पादन दिन थालेपछि सहकारी सदस्यको आयआर्जनको स्रोत बन्नेछ, बाँझो जग्गा उपयोग हुने नै भयो”, अध्यक्ष थापाले भन्नुभयो, “उत्पादन टिप्दादेखि बजारीकरण गर्दासम्म कैयौँले रोजगारी पाउँनेछन् ।” जैमिनी नगरपालिकाले कफी, मह, सुन्तला कागतीलगायतका उत्पादनले बजार नपाएमा नगरपालिकाले नै लिने निर्णय गरेकाले सर्कुवामा उत्पादित कफीलाई बजार नपाउने समस्या हुने छैन ।
Categorized in बिजनेस