बाख्रापालनमा रमाउँदै युवा
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १९, मंगलबार
दाङका एक युवाले बाख्रापालन गरेर विदेशभन्दा राम्रो कमाइ गर्दै आउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ का २३ वर्षीय देवराज ओलीले बाख्रापालन गरेरै मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
“विदेशमा ४०÷५० हजार मात्रै आम्दानी हुन्थ्यो”, उहाँले भनुभयो, “तर अहिले नेपालमै बाख्रापालन गरेर एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको छु ।” विदेशभन्दा नेपालमा पसिना बगायो भने सम्मानित र राम्रो आम्दानी आफ्नै ठाउँमा गर्न सकिने भन्दै उहाँले गाउँमै कृषि पेशा अंगाल्नसमेत युवालाई आग्रह गर्नुभयो ।
एक वर्ष मलेसिया बस्नुभएका उहाँले विदेशमै हुँदा इन्टरनेटमा व्यावसायिक बाख्रापालनको विषयमा लेखिएको समाचार पढेपछि बाख्रापालन गर्ने प्रेरणा मिलेको बताउनुभयो । विसं २०७३ मा सिर्जनशील बाख्रा तथा कृषि फार्म सञ्चालनमा ल्याएर व्यावसायिक रुपमा बाख्रापालन गर्नुभएको छ ।
साथै पछिल्लो समय दुईवटा बोयर जातका बाख्रा पालन गर्नुभएको उहाँले जानकारी दिनुभयो । “मासु पनि धेरै हुने र छिटो छिटो बढ्ने, मासु पनि महँगो हुने भएकाले बोयर ल्याएको हुँ”, उहाँले भन्नुभयो, “रु एक लाख २५ हजारमा दुईवटा बोयर ल्याएको हुँ, यी दुईवटाबाट राम्रो आम्दानी भएपछि थप बोयर ल्याउने योजना बनाएको छु ।” चार÷पाँच वटा बाख्राबाट व्यवसाय शुरु गर्नुभएका उहाँले शुरुमा करीब रु सात लाख लगानी लगाउनुभएको थियो । खसी, बोका किन्न ग्राहक घरमै आउने गरेकासमेत उहाँले बताउनुभयो ।
वडालाई बोयर बाख्राको केन्द्रका रुपमा विकास गर्ने योजना बनाएको समेत उहाँले बताउनुभयो । त्यसका लागि वडामा केही समूह पनि गठन गरेर व्यावसायिक रुपमा कृषि तथा पशुपालन गर्दा अपनाउनु पर्ने प्रक्रियाका बारेमा पनि जानकारी दिने गर्नुभएको छ । उहाँले केही समयपछि उपमहानगरपालिकासँग सहकार्य गरेर बोयर पाल्ने योजना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विदेशमा फलाममा काम गर्थे, त्यति जटिल काम गर्दा पनि सोचेजस्तो आम्दानी हुन सकेन्, तर नेपालमा त्यतिकै दुःख गरे राम्रो आम्दानी हुने रहेछ ।” उहाँले व्यावसायिक रुपमा पशुपालन गर्दा रमाइलो लाग्ने गरको अनुभव सुनाउनुभयो । उहाँले बाख्राका लागि आवश्यक पर्ने घाँसका लागि करीब १८ कट्ठामा विभिन्न प्रजातिका घाँस पनि रोप्नुभएको छ । उपमहमानगरले पनि प्रोत्साहन गरको बताउनुभयो । कान्छो किसान भन्दै उपमहानगरपालिकाले थप हौसला प्रदान गर्ने गरेको र तारजाली लगाउन रु ५० हजार दिएको उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय


