STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाख्रा उपहारले एकल महिलामा खुशियाली

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ८, आइतबार

रामपुर नगरपालिका–६ विजयपुरका जमुना घिमिरेले दुई छोरीको साथमा जीवनयापन गर्दै आउनुभएको छ । 
श्रीमान्को निधन भएपछि उहाँलाई जीवन गुजारा गर्न भने त्यति सजिलो थिएन । दुई छोरीको पठनपाठन र घरायसी खर्च चलाउने जिम्मेवारी उनीमाथि आइपुगेको थियो । दुःखकष्टका साथ जनजिविका चलाउँदै आएका धिमिरेलाई रामपुर नगरपालिका–६ कार्यालयले आयआर्जन गर्नका लागि बाख्रा उपहार दिएपछि उनको परिवारमा खुशियाली छाएको छ । 
“एकल महिलालाई लक्षित गरी वडाले गरेको यस कार्यप्रति खुशी छु, बाख्रा पालेर आयआर्जन गरेर परिवारमा आम्दानीको स्रोत बढाउनेछु”, उहाँले भन्नुभयो । माऊ बाख्राको राम्रोसँग स्याहारासुसार गरी यसैबाट सङ्ख्या बढाउँदै लैजाउने उहाँले बताउनुभयो । 
एकल महिला भनेपछि अझै पनि समाजमा व्यवसाय गर्न असहयोग गर्ने चलन विद्यमान नै छ । एकल जीवन बिताएका महिलाको जीवनस्तर उकास्नका निम्ति कार्यालयले एक वटा माऊ बाख्रा उपहारस्वरुप दिएको छ । एउटा माऊ बाख्रालाई राम्रोसँग घाँसपात, दानापानी गरेर गुजारा चलाउने कविता भण्डारीले बताउनुभयो । 
माऊ बाख्रा पाएपछि उहाँले खुशी हुँदै उहाँ भन्नुहुन्छ, “समाजमा एकल महिला भनेर हेयको दृष्टिकोण राख्नेका निम्ति अब्बल महिलाका रुपमा बाख्रापालन व्यवसाय गरेर नमुनाका रुपमा आफूलाई चिनाउनेछु ।” बाख्रा पालेर घरखर्च, छोराछोरीको पढाइ खर्च चलाउने उहाँको धोको छ । एकल महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउन वडाका ६० वर्ष उमेरभित्रका नौ जना एकल महिलालाई बाख्रा वितरण गरिएको हो । 
यहाँका झुमाकुमारी कुमाल, शुभद्रा थापा, माया घर्ती, भानियमाया घर्ती, मुमाकुमारी पौडेल, दिलकुमारी खासु, कविता भण्डारी, स्यानी कुमाल र जमुना घिमिरेलाई प्रतिव्यक्ति रु पाँच÷पाँच हजारका दरले एक÷एक वटा माऊ बाख्रा उपहारस्वरुप वितरण गरिएको छ । महिला शीर्षकमा विनियोजित ५० हजार बजेटबाट आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले उनीहरुलाई अनुदानमा माऊ बाख्रा वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । 
यस कार्यक्रमले महिलालाई आयआर्जनमा ठूलो टेवा पुग्ने रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । उहाँले नगरभित्रका एकल महिलालाई भेला गराई नगरस्तरीय समिति गठन गर्ने र आयआर्जन, सीपमूलक तालीम सञ्चालन गर्ने नगरपालिकाले योजना बनाएको बताउनुभयो । 
वडा कार्यालयले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न अनुदानका कार्यक्रम गरिरहेको छ । सामूहिक तरकारी खेती गर्न महिला समूहलाई अनुदान रकम, मल, बीउबिजन, कृषिजन्य सामग्री सहयोग गरिरहेको छ । पाँच वर्षभित्र कृषि र पर्यटनको रुपमा चिनाउने लक्ष्यका साथ वडाले विभिन्न कार्यक्रम अगाडि बढाएको छ । नगरकै कृषि उत्पादनका लागि नमूनाका रुपमा चिनिएको छ । 
Categorized in राष्ट्रिय