बालिका बलात्कारका घटना बढ्यो
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ८, बिहिबार
काठमाडौं– प्रदेश ३ मा बालिका बलात्कारका घटना बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।
मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै अनौपचारिक सेवा केन्द्र इन्सेकले ३ नम्बर प्रदेशका १३ वटा जिल्लामा बलात्कृत हुनेमध्ये ६६ प्रतिशत बालिका रहेको जानकारी दिएको छ ।
इन्सेकले सार्वजनिक गरेको ३८६ वटा बलात्कारका घटनामध्ये २५३ जना बालिका र १३३ जना वयस्क महिला छन् ।
सार्वजनिक गरिएको तथ्याङ्कअनुसार सबैभन्दा बढी काठमाडौंमा ९७ जना बालिका र ६४ जना वयस्क महिला बलात्कृत भए । भक्तपुरका २१ जना बालिका र ११ जना वयस्क, ललितपुरमा ३१ जना बालिका र १४ जना वयस्क, दोलखामा ९ जना बालिका र ३ जना वयस्क, सिन्धुपाल्चोकमा १७ जना बालिका र ६ जना वयस्क, धादिङमा ८ जना बालिका र एकजना वयस्क, नुवाकोटमा १० जना बालिका र ५ जना वयस्क, काभ्रेपलाञ्चोकमा ९ जना बालिका र ३ जना वयस्क महिला बलात्कृत भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
यसैगरी सिन्धुलीमा ९ जना बालिका र ५ जना वयस्क, मकवानपुरमा १८ जना बालिका र १६ जना वयस्क, रामेछापमा २ जना बालिका र एकजना वयस्क महिला बलात्कृत भएको तथ्याङ्क छ ।
रसुवामा बलात्कारको प्रयासमात्र भएको तथ्याङ्क छ । त्यहाँ २ जना बालिकालाई बलात्कारको प्रयास गरिएको इन्सेक ३ नम्बर प्रदेश कार्यालयले जानकारी दिएको छ ।
मानवअधिकार उल्लंघनका घटना पनि बढे
इन्सेकले २०१९ वर्ष पुस्तक सार्वजनिक गर्दै प्रदेश ३ मा जम्मा १ हजार ४ सय ९५ मानवअधिकार उल्लंघनका घटना भएको जनाएको छ । त्यसमध्ये राज्यपक्षबाट १४ जना महिलासहित २१७ वटा र अन्य पक्षबाट १ हजार १ सय ७० महिलासहित १ हजार २ सय ७७ वटा मानवअधिकार उल्लंघन र ज्यादतिका घटना भएको इन्सेकका ३ नम्बर प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमं जानकारी दिए ।
इन्सेकको तथ्याङ्कअनुसार सन् २०१८ मा ८१९ वटा घटना भएको थियो । तर बुधबार प्रकाशित तथ्याङ्कमा २०१९ मा यो घटनामा बढोत्तरी भएको पाइन्छ ।
इन्सेकका अनुसार गिरफ्तारीको घटनामा १,०६८, भेला संगठित हुने १२, जातीय विभेदमा २१, महिला अधिकार उल्लंघनमा ७४६, यातनामा ७ र बालअधिकार उल्लंघनमा ३७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
घटना सार्वजनिक गर्दै इन्सेकले प्रदेश ३ को काठमाडौंमा सबैभन्दा बढी उल्लंघनका घटना भएको जनाएको छ ।
Categorized in राष्ट्रिय