STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिदाका दिन सरकारी गाडी चलाउन प्रशासनको पास अनिवार्य

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १४, सोमबार

काठमाडौं - बिदाका दिन सरकारी गाडी चलाउन अनिवार्य पास लिनुपर्ने सूचना जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको सञ्चालनसम्बन्धी सूचना जारी गर्दै पासबिना गाडी सञ्चालन गर्न नपाइने जानकारी दिएको हो ।

प्रशासनको सूचनाअनुसार, झन्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने गाडी, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाका सवारी साधनहरूका लागि भने पासको आवश्यकता पर्ने छैन। तर, अन्य सबै सरकारी सवारी साधन सञ्चालन गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयबाट पास लिनु अनिवार्य गरिएको छ।

सवारी पासको आवेदन गर्दा गृह मन्त्रालयको निर्देशनअनुसार कार्यालय प्रमुखले कारण र औचित्यका आधारमा मात्रै अनुमति दिने प्रावधान लागू गरिएको छ। गृह मन्त्रालयको पत्र संख्या च.नं. ४५८, मिति २०७९ जेठ १२ मा उल्लेखित व्यवस्थाका आधारमा यो निर्णय कार्यान्वयन गर्न लागिएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सार्वजनिक बिदाका दिन सवारी साधनको दुरुपयोग रोक्न र यसको व्यवस्थापनलाई व्यवस्थित बनाउन यो व्यवस्था लागू गरिएको जानकारी दिए। “यो नियम सरकारी स्रोत साधनको कुशल उपयोगका लागि र अनावश्यक सञ्चालन रोक्नका लागि हो,” हमालले प्रशासनसँग भने।

प्रशासनले सबै सम्बन्धित कार्यालय तथा सरोकारवाला पक्षहरूलाई यो नियमको पालना गर्न आग्रह गरेको छ। साथै, सूचनाको उल्लङ्घन गर्ने गाडीमाथि आवश्यक कारबाही गरिने चेतावनी पनि दिएको छ।

Categorized in राष्ट्रिय