STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिपीले यसरी शुरु गर्नुभएको थियो ‘चियापान समारोह’

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २६, आइतबार

नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ । काङ्ग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि उहाँलाई विभिन्न पेशा व्यवसायका व्यक्ति र राजनीतिकर्मी, कूटनीतिक निकायका प्रतिनिधि व्यक्ति भेट्न आउँथे तर तत्कालीन शासकका गुप्तचरहरुले भेट्न आउने व्यक्तिलाई चियोचासो र केरकार गर्थे । त्यसपछि दशैँको अवसरमा टीका लगाउने तथा भेट्न सजिलो हुन्छ भनेर बिपीले चियापान समारोह शुरु गर्नुभएको काङ्ग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो । भेटघाट र जमघटका लागि अरु बेला कुनै अवसर पनि नहुने भएपछि दशैँको पूर्णिमाको दिन मेलमिलापको अवसर हुन्छ भनेर चियापान शुरु गर्नुभएको र पछि पार्टीले त्यसलाई निरन्तरता दिएको इतिहासकार बस्नेतको भनाइ छ । बिपीको निधनपछि पञ्चायत कालको अन्ततिर पनि लेखक, बुद्धिजीवी, पत्रकार, कवि, कूटनीतिक निकायका प्रतिनिधि, राजनीतिज्ञलगायत सबै एकै स्थानमा भेट्नलाई चियापान समारोहलाई अवसरका रुपमा लिइएको थियो । पछि अरु पार्टीले पनि काङ्ग्रेसले शुरु गरेको चियापान समारोहलाई पछ्याउँदै गएको उहाँले बताउनुभयो । चियापान कार्यक्रम अहिलेको राजनीतिक परिस्थितिमा पनि सबै पार्टीका शीर्ष नेता एकै स्थानमा जम्मा हुने तथा भेटघाट गर्ने अवसरका रुपमा स्थापित भएको छ । काङ्ग्रेसले यस वर्ष पनि सो परम्परालाई निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, सञ्चारकर्मीलगायत विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहने प्रवक्ता शर्माले बताउनुभयो । यस वर्षको चियापन समारोहमा काङ्ग्रेसले रक्तदान कार्यक्रम पनि थप गरेको छ । काङ्ग्रेसले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिले चियापान समारोह आयोजना गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
Categorized in राजनीति