STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिरामीको चाप धान्ने जनशक्ति छैन

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १, आइतबार

सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दो छ । चापलाई धान्ने गरी न स्वास्थ्यकर्मी छन्, न त स्रोतसाधन । जिल्ला अस्पताल रोल्पामा अपर्याप्त जनशक्तिसँगै सरकारद्वारा प्रदान गरिने बजेट पनि अपुग छ । 
सीमित जनशक्तिले चाहेर पनि सबैलाई स्तरीय सेवा दिन सम्भव नभएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ । 
“घरबाट बिहान ६ बजेको मिर्मिरे उज्यालोमै हिँडेर ९ बजे बजारक्षेत्रमा आइपुगँे । त्यसपछि करीब १८ मिनेट अटोरिक्सामा चढी अस्पताल पुगियो । नाम लेख्नेको लाइन लामो थियो । नाम लेख्ने मान्छे पनि नभएकाले अस्पतालकै गाडी चालकले नाम लेख्दै थिए । धेरै समय लाइनमा बसेँ, अनि बल्लतल्ल नाम लेखाएँ”, एक महीना पहिले खुट्टा भाँच्चिएकी एक महिलाको पीडा हो यो । “अस्पताल आएको करीब आठ घण्टापछि मात्र कार्यालय सहयोगीले प्लास्टर खोलिदिए”, रोल्पा नगरपालिका– १० धबाङ भुमकी मनकुमारी वलीले भनिन् ।  । 
नुहाउने क्रममा दुवै कानमा पानी पसेर सुन्न नसक्ने भएपछि रोल्पा नगरपालिका–५ घापाकी रामपुरा पुन जिल्ला अस्पताल रेउघामा आउनुभयो । कानको ड्रेसिङ गर्नका लागि उनी बिहान ११ बजेदेखि लाइनमा बस्नुभयो । कानको ड्रेसिङ गर्ने चिकित्सकको अभावमा दिउँसो ३ बजे मात्र ड्रेसिङ गरिदिएको उनले बताईन् ।  
पछिल्लो समयमा जिल्ला अस्पताल रोल्पामा बिरामीको चाप अत्यधिक बढेको छ । तर दरबन्दीअनुसार चिकित्सक, स्वास्थ्यकर्मी नआएका कारण बिरामी मर्कामा परेका छन् । ‘अस्पतालमा जनशक्ति अभाव छ, बिरामीले रोगको उपचार पाउन सकेका छैनन्,’ अस्पतालका निमित्त प्रमुख डा धनमाया घर्तीले भन्नुभयो, ‘रोल्पाको जिल्ला अस्पतालमा लामो समयदेखि यो स्थायी समस्याजस्तै भएको छ ।’ दरबन्दीका चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण नहुँदा बिरामीलाई अन्यन्त्र जान सिफारिस गर्न बाध्य रहेको घर्तीले बताउनुभयो । 
दैनिक १०० भन्दा बढी बिरामी सेवा लिन आउने यो अस्पतालमा आवश्यक चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मार्कामा पर्ने गरेको डा घर्तीले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविरको आयोजना हुँदा होस् वा स्थानीय सरकारले आयोजना गरेको शिविर नै किन नहोस्, त्यसका लागि यो अस्पतालबाट चिकित्सक पठाउनुपर्ने हुन्छ । कहिलेकाहीँ अस्पतालमा एक मात्र चिकित्सकले सेवा दिनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनको भनाइ छ । 
योसँगै अस्पतालमा कार्यरत चिकित्सक अध्ययन तथा घरबिदामा बस्दा बिरामीको नाम दर्ता, रसिद काट्ने, नाम वाचन, औषधि वितरणसमेत चिकित्सक आफैँले गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल रोल्पाका मेडिकल अधिकृत डा प्रकाशबहादुर बुढाले बताउनुभयो । 
हिजोआज झाडापखला, भाइरल ज्वरो, रुघाखोकीका बिरामीको चाप अत्यधिक रहेकाले पनि चिकित्सकको अभावमा अन्य बिरामीको उपचार प्रभावित हुने गरेको चिकित्सकको भनाइ छ । 
Categorized in राष्ट्रिय