STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिहारमा १२ वर्षीया नेपाली बालिकाको ‍बलात्कारपछि हत्या

Janjati Khabar – एजेन्सी | २०७७ माघ २५, आइतबार

भारतको बिहार राज्यमा नेपाली मूलकी १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरी जबर्जस्ती जलाइएको घटना बाहिरिएको छ ।

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका घर भई बिहारको पूर्व चम्पारण जिल्लामा परिवारका साथ बस्दै आएकी ती बालिकालाई घर मालिकसहित ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरी जबर्जस्ती जलाएका हुन् । 

नेपाल बारबर्दिया नगरपालिकाका सुरेश (नाम परिवर्तन) गत वर्षयता मोतिहारीस्थित कुन्डवा चैनपुरमा मजदूरी गर्दै आएका थिए । उनका अनुसार यो घटना २१ जनवरीको हो । त्यस बेला उनकी पत्नी नेपालस्थित आफ्नो गाउँ गएकी थिइन् । सुरेशचाहिँ काममा निस्केका थिए । छोरा कुनै कामले बजारमा थिए ।  

पूर्व चम्पारणको सिकहना, अनुमण्डल पदाधिकारीसमक्ष सरेशको तर्फबाट दिइएको निवेदनमा उल्लेख छ, ‘साँझ ४ बजेतिर जब मेरो छोरा बजारबाट आउँदै थियो, हाम्रो घरमालिक सियाराम साहले घरभित्र नछिर्न उसलाई रोक्यो । तर, मेरो छोरा उसको कुरा नसुनेझैँ गरी घर पुगेर हेर्दा उसकी बहिनी भुइँमा ढलेकी थिई । यो देखेर उसले मलाई बोलायो । मैले घर पुगेर हेर्दा मेरी छोरी भुइँमै लडिरहेकी थिई । उसको घाँटीमा रातो निशान थियो । उपचार गराउनका लागि मैले उसलाई स्थानीय चिकित्सक भए ठाउँ लगेँ । तर, कसैले उपचार गरिदिएनन् ।’

सुरेशका अनुसार यसपछि केही मानिस (अभियुक्त) त्यहाँ जम्मा भए । र, लास जलाउन दबाब दिन थाले । निवेदनमा भनिएको छ, ‘देवेन्द्रकुमार साहले लास छिटोभन्दा छिटो जलाउन दबाबसँगै धम्की पनि दियो– लास छिटो नजलाए तँ र तेरो छोरालाई मारेर नेपालमा फ्याँकिदिन्छौँ । यसपछि एक साधा कागजमा समेत औँठा छाप लिए । र, रातको १२ बजे बलपूर्वक पोखर रोडको किनारामा नुन र चिनी हालेर लास जलाइदिए । बिहानै मलाई उनीहरूले नेपालतिर खेदाए । 

२१ जनवरीमा भएको घटनाको निवेदन २ फेब्रुअरीमा दर्ता गराइएको छ । कुन्डवा चैनपुरमा संख्या २१/२१ दिनाङ्क ०२.०२.२०२१ भारतीय दण्ड संहिताको धारा १४९/३४२/४५०/३७६ (डी, बी), १२० (बी) ३०२/२०१ अनुसार मुद्दा दर्ता गएिको छ । 

११ जनालाई अभियुक्त बनाइएको छ, जसमा चार अभियुक्त विनय साह, दीपककुमार साह, रमेश साह, देवेन्द्रकुमार साहमाथि सामूहिक दृष्कर्म र हत्याको आरोप छ । घरमालिक सियाराम साहसहित अन्य सात जनामाथि लासलाई जबर्जजस्ती जलाएर प्रमाण मेटाएको आरोप लगाइएको छ ।   

घटनामा एफआईआर दर्ता भएपछि, गत ५ फेब्रुअरीमा एक अडियो भाइरल भयो, जसमा २१ जनवरीमा कुन्डवा चैनपुरका थानाध्यक्ष सञ्जीवकुमार रञ्जन र अभियुक्त रमेश साहबीचको कुराकानी छ । यो कुराकानीमा थानाध्यक्ष सञ्जीवकुमार,अभियुक्त रमेश राहसँग भनिरहेका छन्, ‘दाउराको व्यवस्था गर्नू र लेख्न लगाउनू– केटी चिसोले मरी ।’

एसपी नवीनचन्द्र झाले दुवै अभियुक्त पक्राउ परेका बताए । अन्य अभियुक्तलाई पक्राउ गर्न अनुमण्डल प्रहरी पदाधिकारी, सिकहरनाको नेतृत्वमा एसआईटी गठन गरिएको उनले जानकारी दिए । 

 

Categorized in अपराध-दुर्घटना