STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुटवलका दर्जन ठाउँ निषेधित क्षेत्र घोषणा

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ आश्विन १८, आइतबार

बुटवल – प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन चर्किन थालेपछि रुपन्देही प्रशासनले बुटवलका करिब दर्जन ठाउँलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति जारी गरेको सूचनामा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ । निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ  ।

स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा घेराउलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको हो ।

सूचनामा प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको उल्लेख छ ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न नपाइने प्रशासनको सूचनामा उल्लेख छ ।

यस्तै मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

Categorized in राजनीति