STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बेपत्ता आउने आशमै बित्यो दुई दशक

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १४, शनिबार

“माओवादी आउँथे, घरमा पकाएको खाना खान्थे,। कार्यक्रममा बोलाएर लैजान्थे, त्यही निहुँमा सुरक्षाकर्मीले श्रीमान् भद्रवीर रानालाई घरबाटै पक्राउ गरेर बेपत्ता पारेको पनि १८ वर्ष बितिसक्यो”, भेरी नगरपालिका–१ पिपेकी बली रानाले भन्नुभयो । माओवादी द्वन्द्वका क्रममा सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका श्रीमान् फर्केर आउँलान् भनेर कुर्न थालेको उहाँलाई वर्षौं बित्यो । उहाँलाई बेपत्ता श्रीमान् फर्केर आउँलान्भन्दा भन्दै १८ वर्ष बितेको पत्तै भएन । अहिले पनि श्रीमान फर्केर आउँछन् कि भन्ने झिनो आशा छ । बलीले भन्नुभयो, “जीवन साथी गुमाउनु पर्दा आँशु पिएर जिउनुको विकल्प भएन, मेरोजस्तो पीडा कसैले भोग्न नपरोस्, युद्धको नाममा हामीजस्ता सोझा नागरिकलाई तड्पाउने काम कसैले नगरुन ।” उहाँले बेपत्ता पार्नेलाई सास वा लाश दिन माग गर्नुभयो । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म छानबिन नभएकामा उहाँ निकै दुःखी हुनुहुन्छ । उहाँले भन्नुभयो, “ढिलै भए पनि हामीले न्याय पाउँछाँै कि भन्ने आशा थियो, यो आयोगले पीडितलाई न्याय दिलाउलाजस्तो लागेन ।” त्यस्तै वडा नं २ रिसाङ्गकी कमला शर्माले आफ्ना श्रीमान् बेपत्ता भएको १८ वर्ष बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएको बताउनुभयो । अध्ययनका लागि नेपालगञ्ज गएका श्रीमान् शिवप्रसाद शर्मालाई तत्कालीन शाही नेपाली सेनाले २०५८ सालमा माओवादी भएको आरोपमा बेपत्ता बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घरको मूली मान्छेलाई बेपत्ता पारिएपछि आफू, दुई छोरी आँशु बगाएरै जीउन बाध्य भयौँ, अहिले जीवन निर्वाहमा निकै समस्या परेको छ, छोरीहरुले बाबा खै भन्छन्, मैले के जवाफ दिने रु हामीलाई यसरी कहिले सम्म तड्पाएर राख्ने रु मरेको वा बाँचेको अवस्था सार्वजनिक गरियोस् ।” उहाँले आफ्ना निर्दोष श्रीमान्लाई बेपत्ता पार्ने सुरक्षाकर्मीलाई कारवाहीको माग गनुभयो । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी गरे पनि न्याय पाउनेमा आशावादी नभएको उहाँले बताउनुभयो । भेरी–१ कालेगाँउकी ७३ वर्षीया चनावती बटालाले छोरा फर्केर आउला भन्ने आश मारिसक्नुभएको छ । तर उहाँलाई न्यायको आश भने मरेको छैन । उहाँलार्य बुढेसकालको साहारा बन्ला भनेको छोरो बेपत्ता भएको २१ वर्ष बितिसक्यो तर अहिलेसम्ममा छोराको अवस्था थाह पाउन सक्नुभएको छैन । “छोरो ज्यूँदो होला भन्ने आशा पनि छैन”, उहाँले भन्नुभयो, “माओवादी आरोपमा मेरो छोरालाई सुरक्षाकर्मीले घरबाटै पक्राउ गरेर २०५५ सालमा लिएका हुन्, त्यसपछि उनीहरुले छोरालाई बेपत्ता बनाए, सायद मारिदिए होलान, मेरा छोरालाई बेपत्ता पार्नेलाई हदैसम्मको कानूनी कारवाही होस् अन्य क्षतिपूर्ति केही चाहिएन ।” जाजरकोट नगरपालिका–४ की राज्यलक्ष्मी खनालले पतिलाई बेपत्ता बनाएपछि आफ्नो जीवन निर्वाहमा निकै समस्या परेको गुनासो गनुभयो । जिल्ला प्रहरी कार्यालय जाजरकोट परिसरमा रहेको कालिका मन्दिरका पुजारी रहेका शर्मालाई सुराकीको आरोपमा तत्कालीन विद्रोही माओवादीले २०५८ सालमा अपहरण गरी बेपत्ता बनाएका थिए । आफ्ना पतिको सास वा लाशको अवस्था सार्वजनिक गर्न र बेपत्ता पार्नेलाई कारवाही गर्न उहाँले माग गर्नुभयो । जाजरकोटमा अझै १३ जना बेपत्ताको सूचीमा छन् ।
Categorized in विचार