भाइटीका मनाउन मंसिर २ गते सार्वजनिक बिदा माग
Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक २४, सोमबार
काठमाडौं – नेवार समुदायले यही मंसिर २ गते भाइटीका मनाउने भएकाले सो दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ ले गरेको छ ।
समारोह समितिका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा पुगेको टोलीले सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसँगको भेटघाटमा महर्जनले सो माग राखेका थिए ।
प्रतिउत्तरमा मन्त्री श्रेष्ठले मंसिर २ गते नेवारहरुको भाइटीका परेकोले सो दिन सार्वजनि बिदा दिलाउन मन्त्रिपरिषदमा प्रस्ताव लगिने बताउनुभएको छ ।
मन्त्री निवासमा सोमबार बिहानको भेटमा समितिका अध्यक्ष महर्जनले मन्त्री श्रेष्ठलाई नववर्षको शुभकामना दिँदै कोरोना महामारीको जोखिम रहेको अवस्थामा यस वर्षको नववर्ष मनाउने सम्बन्धमा छलफल गरेका थिए ।
समितिका अध्यक्ष महर्जनले यस वर्षको नववर्ष सामाजिक सञ्जालबाट विश्वव्यापी रुपमै मनाउने तयारी भइरहेको जानकारी मन्त्री श्रेष्ठलाई दिएका थिए । उनले समारोह समितिको बैठकले कछलाथ्व प्रतिपदा (मंसिर १ गते) नववर्ष मनाउने निर्णयबारे पनि मन्त्री श्रेष्ठलाई जानकारी दिएका थिए ।
छलफलमा कोरोना भाइरस संक्रमणको जोखिम रहेको अवस्थामा संक्रमणबाट टाढा रही नववर्ष मनाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।
छलफलमा नेपाल संवत्को नववर्ष मनाउने समारोहका लागि नेपाल सरकारले वर्षेनी गर्दै आइरहेको कार्यलाई निरन्तरता दिन पनि महर्जनले अनुरोध गरेका थिए ।
Categorized in राष्ट्रिय


