relans
ni new 83
nib 2082 5

भाले, अण्डा र घ्यू बोकेर सुत्केरीको घरमा गाउँपालिका अध्यक्ष

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ५, आइतबार

यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ आर्थिक वर्षको शुरुआतबाटै सुत्केरी भएका महिलाका घर–घरमा पुगेर कोशेली वितरण शुरु गरेको हो । गाउँपालिका अध्यक्ष राजु पौडेलले शुक्रबार पहिलोपटक महाशिला–५ लुङ्खु आहाले निवासी सुत्केरी गुडिया सुनारसँग भेटघाट गर्नुभएको हो । अध्यक्ष पौडेल, उपाध्यक्ष, हीरादेवी राना, स्वास्थ्यकर्मी र वडाध्यक्षहरुको उपस्थितिमा सुत्केरी आमालाई कुखुराको भाले, घ्यू र अन्डा वितरण साथै स्वास्थ्यकर्मीबाट सुत्केरीको स्वास्थ्य जाँच पनि गरिएको महाशिलाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । आमा र बच्चाको अवस्था सामान्य रहेको थियो । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढङ्गबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरिएको हो । महाशिला गाउँपालिकाका छ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर स्थापना गरिएका छन् । “हरेक महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने काम भएका कारण जिरो होम डेलिभरीको अवस्था छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “अब घरमा सुत्केरी गराउने मानसिकता नै नबसोस् भनेर प्रोत्साहनको कार्यक्रम ल्याएका हौँ ।” भैँसीलाई पनि सुत्केरी खर्च यसैगरी महाशिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई मात्रै होइन, पाडापाडी हुर्काउने कृषकलाई समेत प्रोत्साहन गर्न भैँसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको छ । भैँसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी हुर्काउने कृषकलाई रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । स्थानीय जातका लिमे र पाराकोटे जातका भैँसीका पाडापाडी काटेर खानेलाई रु एक हजार जरिवाना तिराउने निर्णय गत वर्षदेखि नै कार्यान्वयनमा छ । महाशिला गाउँपालिकाले यसअघि एक घर एक रोजगार, रक्सी नियन्त्रण, बाँदर नियन्त्रण अभियान सञ्चालन गरेका कारण देशभर चर्चामा रहेको छ । यसैबीच पर्वतको महाशिला गाउँपालिका वडा नं १ जम्पुरमा पहिरोका कारण स्थानीय धनबहादुर शाहीको धन्सारसहितको गोठ भत्किएको छ । लगातारको वर्षासँगै शनिबार दिउँसो गोठमाथिबाट आएको पहिरोका कारण गोठ भत्किएको हो । गोठ भत्किँदा शाहीको गोठमा पालिएका एक ब्याउने र एक दुहुनो भैँसी मरेको छ । झण्डै रु चार लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।
Categorized in उपत्यका
ppp 2