भाषा र लिपि संरक्षणमा हामीले जोड दिनुपर्छ : अष्टलक्ष्मी शाक्य
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र ८, मंगलबार
बागमती प्रदेशकी नव नियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेवारहरुको संस्कृति, भाषा र लिपि संरक्षणमा जोड दिने बताउनु भएकी छिन्।
नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले आज लखतीर्थ स्थित आफ्नो कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाक्यले भाषा र लिपि रहेमात्रै जातिको पहिचान रहने भन्दै यसमा मातृभाषा पत्रकारिताको योगदान धेरै रहने बताउनु भएकी हुन्। उहाँले नेवा: मात्र नभइ बागमती प्रदेशमा बहुसंख्यामा रहेका तामाङ र अल्पसंख्यक जिरेल, चेपाङ लगायतका जातिहरुको विकास र उत्थानमा पनि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो ।
पत्रकार भेटघाट कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १५ का विभिन्न संघसंस्था र नेवा: पत्रकारहरुले मुख्यमन्त्री शाक्यलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
शुभकामना ग्रहण गरेपछि मुख्यमन्त्री शाक्यले अहिलेको राजनीतिक परिस्थिति र कोरोना जोखिमको स्थिति स्थिर भएपछि विकास निर्माणका काम अघि बढने समेत बताइनु भयो । उहाँले हाल प्रदेश सरकारको प्रमुख दायित्व कोरोना भाइरसको नियन्त्रण र रोकथाम भएको समेत बताइनु भयो। साथै उहाँले मेलम्ची र हेलम्बुमा प्रदेश सरकारले सडक संजाल विकास गर्न तत्काल काम अघि बढाउने समेत बताइनु भयो।
नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले मुख्यमन्त्री शाक्यलाई केहीदिन अघि नेवा: पत्रकार काउन्सिलको माग राखेको थियो। मुख्यमन्त्री शाक्यले आफू भर्खरै मुख्मन्त्री बनेको भन्दै यसबारेमा अध्ययन गरेर जानकारी गराउने बताउनु भयो ।
Categorized in उपत्यका

