भोलि शुक्रबार असनमा किन ?
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २६, बिहिबार
ऐतिहासिक महत्वको क्षेत्र काठमाडौंको भित्री शहर असन टोलमा भोलिल शुक्रबार दिउँसो ३ बजे विरोधसभाको आयोजना गरिएको छ ।
असन टोलमा बिभिन्न पार्टीहरुले आफ्नो विचार पोख्नको निमित्त, चुनावमा उठ्नको निमित्त एवं विभिन्न कार्यक्रमको प्रचार गर्नको निमित्त असन टोलको प्रयोग गरिदै आइरहेका छन् ।
तर भोलि शुक्रबार असन टोल, असन टोल बचाऊ कै निमित्त विरोधसभा हुन गइरहेको छ ।
उक्त सभा किन गर्न लागेको हो ? र हामी किन असनमा जम्मा हुनलागेको हो ? यो कुराको जानकारीको लागि सार्वजनिक गरिएको पर्चा पढ्नुहोस् ।
असनमा भू–माफिया भित्र्याई साँस्कृतिक महत्वको घरबाट रैथाने नेवारहरुलाई विस्थापित गर्न खोज्ने गुठी संस्थानको विरोध गरौं । बैशाख २७ गते ३ बजे असन चोकमा भेला हाऔ ।
नेवार समुदायको साँस्कृतिक केन्द्रको रुपमा असन बजार रहेको छ । असन बजारको कोथुननीमा अवस्थित वायु देवता गुठीको नाममा रहेको घरजग्गामा अशोक वृक्ष विहारको पुरातात्वीक महत्व बोकेको अभिताभ बुद्ध रहेको घरमा (जसलाई घडी घरको नामले पनि चिनिन्छ) पुखौं देखि बस्दै आएका तीन परिवार र सोही घरमा व्यवसाय गर्दै आएका समेत १४ परिवारसँग गुठी संस्थानले नापी हुँदाको बखत सन्तान दर–सन्तानले बहाल भू–बहाल बुझाए सम्म बस्न पाउने भनी स्वीकार गरेको र पाँच वर्ष अगाडि बदलिदो बजार भाउ मुताविक प्रत्येक पाँच वर्षमा बहाल रकम पुनरावलोकन गर्ने गरी सम्झौता समेत गरेको अवस्था छ ।
तत्कालिन दरवारले वायु देवता गुठीको सञ्चालन तालुकदार मार्फत गर्न हुकुम प्रमांगी जारी गरेको थियो । तर भूमि व्यवस्था ऐन र गुठी संस्थान ऐनले तालुकदार खारेज गरेको अवस्था छ । तर सोही खारेजीमा परेका तालुकदार र भू–माफिया मिली उक्त राजगुठीमा दर्ता रहेको घर गुठी संस्थानको सहमति बेगर रैकर जग्गा भनी फर्जी कागजात बनाइ ज्ञानेन्द्रको शासन कालमा काठमाडौं महानगरपालिकाबाट नक्सा पास गरेको थियो । नेपालको विडम्वना तल्लो अदालतले खारेज गरेको नक्सा पास बदर मुद्दा सर्बोच्चले सदर गर्ने निर्णय ग¥यो । सर्बोच्चले नक्सा पास सदर गर्दा लिएको आधार भनेको मुद्दा चल्दा चल्दै र उक्त घरमा वसोवास र पुर्खौं देखि पसल राख्दै आएका १४ परिवारसँगको सम्झौता विपरित चलखेल गर्दै गरेको भू–माफियासँग उक्त घर २५ वर्ष लिजमा दिने गुठी संस्थालने गरेको सम्झौता नै हो ।
अहिले गुठी संस्थालने उक्त घर खाली गर्न रैथानेहरुलाई बलजफ्ती अन्याय पूर्वक सूचना जारी गरेको छ । गुठी संस्थान भू–माफियाहरुको चंगुलमा फस्दै गरेकोमा हामी सबैले घोर विरोध गरौं । गुठी संस्थानले हाम्रा पुर्खाले जिम्मा लिएको सम्पत्ति रक्षा गर्ने हो कि? भू–माफियासँग साठगाठ गरी ब्यापारीक कम्प्लेस बनाउँदै हिड्ने हो ? असनको साँस्कृतिक स्वरुप र महत्व विखण्डित गर्ने यस्ता निर्णयहरुको हामीले विरोध गर्नु पर्दछ ।
पुर्खाको सम्पत्तिमा थप केही निर्णय लिनु पर्दा रैथाने जनताको सहमति नलिई षडयन्त्रपूर्ण ठगन्ते सम्झौता गरेको छ । नेवारको साँस्कृतिक बजार असन जस्तो नेपालको मुटु रहेको केन्द्रमा गुठी संस्थान मार्फत भू–माफिया छिरेको भनेको नेवार सभ्यता, संस्कृति माथिको अन्तिम हमलाको रुपमा लिनु परेको छ ।
अहिले हामी चुप लागेर वसेमा भोलि यहाँका रैथानेले आफ्नो सभ्यता, संस्कृति र पर्व चलाउन राखिएको जग्गा जमिन संरक्षण गर्न नसकिने अवस्थामा पुग्ने निश्चित छ ।
त्यसैले यही वैशाख २७ गते शुक्रबार दिउँसो ३ वजे असन चोकमा हुने विरोध सभामा सहभागि भई एक्यवद्धता जनाउनु हुन अपिल गदैछौं ।
असन कोथुननी बचाउ अभियान
थप जानकारीको लागि ९८४००५१९६७,९८१३६७६४२९, ९८४१८०६१५२
Categorized in राष्ट्रिय

