भौतिक दूरी कायम नगर्ने ३० सार्वजनिक सवारी कारवाहीमा
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ४, आइतबार
काठमाडौँ : कोभिड–१९ को जोखिमका समयमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेका सार्वजनिक सवारीलाई शनिबार कारवाही गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा स्वास्थ्य मापदण्ड नअपनाई सञ्चालन भएका ३० सार्वजनिक सवारीलाई कारवाही गरेको हो ।
कोभिड–१९ को सङ्क्रमण जोखिम कायमै रहेका बेला तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालनमा आएका सार्वजनिक यातायातको विशेष जाँच अभियान चलाउँदा ती सवारी कारवाहीमा परेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । दिनभर नियन्त्रण लिई आगामी दिनमा गल्ती नगर्ने शर्तमा छाडिएको र अर्काे पटक पनि फेला परेमा थप कारवाही गरिने ढकालले बताउनुभयो ।
सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पञ्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था छ । तोकिएको व्यवस्थालाई दुरुस्त पालना गराउनको लागि ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ । फाइल तस्बिर
Categorized in राष्ट्रिय