STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मगरले मनाए टुँडीखेलमा ‘माघे सकराती’

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १, बुधबार

मगर समुदायले विविध साँस्कृतिक कार्यक्रम गर्दै ‘माघे सकराती’ पर्व मनाएका छन् । आज टुँडीखेलमा भेला भएका मगर समुदायले आआफ्नो कला संस्कृतिको प्रदर्शनका साथै शुभकामना आदानप्रदान गरेका छन् । माघे सकराती पर्वको अवसर पारेर नेपाल मगर सङ्घद्वारा आयोजित ‘माघे सकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ मा मगर वेशभूषा, कला संस्कृति तथा मगर समुदायको मौलिक खानाको परिकार प्रदर्शनीमा राखिएको छ । महोत्वसको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न जातजातिको मौलिक कला संस्कृतिमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनुपर्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल निर्माण गर्न विभिन्न समुदायको कला संस्कृति तथा चाडपर्वलाई विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । नेपाल विविधतामा एकताले युक्त मुलुक भएको उल्लेख गर्दै उहाँले शान्ति, सद्भाव तथा भ्रातृत्वलाई प्रवद्र्धन गर्न थप एकताबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो । मगर र थारु समुदायले एकै स्थानमा माघे सकराती र माघी पर्व मनाएर एकताको सन्देश दिएको उहाँको भनाइ थियो । “हामीले एउटै नारा, उद्देश्य र लक्ष्यलाई बोक्न सक्नुपर्दछ, त्यो भनेको समृद्ध नेपाल हो”, उपराष्ट्रपतिले भन्नुभयो, “आगामी दिनमा पनि सबै समुदाय एकताबद्ध भएर सबै चाडपर्वको संरक्षण, संवद्र्धन र विकास गर्न सक्नुपर्छ ।” महोत्सव दुई दिनसम्म चल्नेछ । यसरी मनाउँछन् मगर समुदायले माघे सङ्क्रान्ति नेपालको सबै जिल्लामा मगर जातिको बसोबास रहे पनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ । मौलिक संस्कृतिको रूपमा मगरले माघे सकराती, भूम्यापूजा, वैशाख पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउनेगर्दछन् भने भाषिक रूपले मगरले बाह्र मगरात ९मगर ढुट०, अठार मगरात ९मगर खाम÷पाङ० र मगर काइके बोल्ने गर्दछन् । मौलिक कला–संस्कृतिका हिसाबले मगर मा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन् । माघे सकराती चाड विशेषतः चेली तिहारकोे रूपमा मनाइन्छ । नयाँ यामको शुरुआत आजकै दिनदेखि उभौली शुरु भई साउने सकरातीमा समापन भई सोही दिनदेखि उधौली शुरु हुने प्रचलन छ । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूल र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मूलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् । आजका दिन छोरीचेलीलाई माइतीका तर्फबाट दाजुभाइले पूजा गर्छन् । चामलको सेतो टीका र जौको फूल लगाई दक्षिणा अनि आशिर्वाद दिने प्रचलन छ । छोरीचेलीलाई गिठ्ठा, भ्याकुर, पिडालु, तरुल, रोटीसहितको परिकार मिसिएको ‘मिस्रा’ दिने गरिन्छ । घरमा आएका चेलीलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भनेको तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचडी, घिउ मिश्रित परिकार हो । यस चाडमा मौलिकरूपले भैलो खेल्ने, पुतली नाच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने आदि गरिन्छ । सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको शुरुआत गर्ने र मादल, बाजाहरु चर्को आवाज निकाल्ने बाजागाजा बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेँसीबाट लेकतिर बसाइँ सर्ने गरिन्छ ।
Categorized in राष्ट्रिय