STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मदनकृष्ण दिपाश्रीले म्युजिक भिडियोमा गरे विवाह

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ २७, बुधबार

नेपाली कला तथा संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका वरिष्ठ कलाकार तथा गीतकार मदनकृष्ण श्रेष्ठ तथा गायिका देविका बन्दनाको नयाँ सांगीतिक प्रस्तुति सार्वजनिक भएको छ ।

मंगलवार जय नेपाल सिनेमा हलमा आयोजित एक कार्यक्रमबीच उक्त रमाइलो यूगल गीतको म्युजिक भिडियो प्रीमियर गरिएको छ ।

भिडियो सार्वजनिक भएपछि गायक, गीतकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले उक्त गीतसंग सम्बन्धि रोचक प्रसंग सुनाउँदा दर्शक दीर्घामा हाँसोको फोहोरा छुटेको थियो । त्यसक्रममा उनले जग्गेमा दुलाहाको भेषमा सजिएर अभिनय गर्ने क्रममा आफूलाई लाज लागेको प्रसंग सुनाएका थिए ।

गायिका देविका बन्दनाले कलाकार मदनकृष्ण श्रेष्ठसंग यूगल गायन गर्ने आफ्नो लामो समयदेखिको चाहना पूरा भएको बताउँदै नयाँ शैलीको गीतलाई दर्शक तथा स्रोताले मन पराउने धारणा व्यक्त गरिन् ।

अभिनेत्री दिपाश्री निरौलाले पनि मदनकृष्ण श्रेष्ठसंग जोडि बनेर अभिनय गर्ने चाहना पूरा भएको भन्दै निर्देशक भट्ट तथा गायिका देविका बन्दनालाई धन्यवाद दिइन् ।

गायिका देविका बन्दनाको यूट्युबमार्फत सार्वजनिक भैसकेको यो गीतलाई अनिल शाहीले संगीतबद्ध गरेका छन् । संगीतकार शाहीले नै यो गीतमा संगीत संयोजनसमेत गरेका छन् । ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ दीप तुलाधरले गरेका हुन् ।

केशवराज भट्टद्वारा निर्देशित यो गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । भिडियोमा मदनकृष्ण श्रेष्ठसँगै दिनेश डिसी तथा दीपाश्री निरौलाको अभिनय रहेको छ ।

भिडियोमा मदनकृष्ण श्रेष्ठ तथा दिपाश्रीलाई दम्पत्तिको रुपमा प्रस्तुत गरिएको छ । दुबै जनाले आ–आफ्नो सपनामा वैवाहिक समारोहका झलकहरु देख्ने प्रसंग भिडियोमा प्रस्तुत छ । मदनकृष्णले आफ्नो सपनामा दिपाश्रीसंगै विवाह भएको देख्छिन् भने दिपाश्रीले चाहिँ दिनेश डिसीसंग विवाह भएको सपना देखेको प्रसंग गीतमा समेटिएको छ ।

हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोमा सम्पादन, कलर तथा ग्राफिक्सको काम मनोज कार्कीले सम्हालेका छन् ।

भिडियो निर्माणमा युवराज हुमागाईं सहायक क्यामेराम्यानका रूपमा रहेका छन् । प्रकाश व्यवस्थापन सुरेश थापा, रामप्रसाद हुमागाईं, राजेन्द्र हुमागाईं तथा गोकुल हुमागाईंले गरेका छन् ।

सार्वजनिक भएको यस सांगीतिक प्रस्तुतिले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

Categorized in साहित्य-कला