मध्यपुर थिमिको सहकारी नियमावलीको प्रारुप अन्तिम चरणमा
Janjati Khabar – विजयरत्न असंबरे | २०८० कार्तिक ३, शुक्रबार
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारी नियमावलीको प्रारुपको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा उपप्रमुख श्रेष्ठले सहकारी क्षेत्रको विकृति र समस्यालाई सम्बोधन गर्न नियमावली बनाएको बताएका हुन् । नगरपालिकाले गतवर्ष सहकारी ऐन जारी गरेको थियो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडाध्यक्ष रमेश थापाले स्थानिय स्तरमा सञ्चालित सहकारीहरुमा मात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गरे ।
यो वर्ष मध्यपुर थिमि नगरपालिका सहकारी शाखाबाट उद्घाटन तथा बन्द सत्र दुईथरी नगरी एउटै कार्यक्रममार्फत साधारणसभा सम्पन्न गर्न सुचना दिए बमोजिम सदस्यहरुको सुझाव संकलन गरी एउटै कार्यक्रममार्फत निर्णय पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण काजी मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदन कृष्ण श्रेष्ठ, ८ का वडाध्यक्ष रमेश थापा, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका बालमुकुन्द उपाध्याय, मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख अभयन्द्र श्रेष्ठ, सिवा सायमि खलःका अध्यक्ष मनोज लाल मानन्धर तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
लेखा सुपरीवेक्षण समितिका सदस्य कृष्ण सुन्दर प्रजापतिको संयोजनमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिका संयोजक सुन्दर श्रेष्ठले आआफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव अनिल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा महिला सदस्य मिन्दिरा श्रेष्ठले स्वागत मन्तव्य तथा निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले धन्यवाद मन्तव्य दिएका थिए ।
Categorized in उपत्यका

