मध्यरात गएकाे भूकम्पबाट जाजरकोटमा ८६ र रूकुममा २७ जनाको मृत्यु
Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १८, शनिबार
काठमाडौँ - जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोटमा ८६ र रूकुममा २७ जनाको मृत्यु भएको छ ।
भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले संचार माध्यमलाई बताए ।
भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पमा परेर जाजरकोटमा ३० जना घाइते भएका छन् । सामान्य घाइतेहरूको संख्या धेरै रहेको डिएसपी रोकाले बताए । घाइतेहरू मध्ये २२ जनाको जिल्ला अस्पतालमा उपचार हुँदै छ । ८ जनालाई सुर्खेत रिफर गरिएको छ ।
यसैगरी जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पपछि रुकुम पश्चिममा दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले हालसम्म मृत्यु भएका २७ जना तथा घाइते ५३ जनाको नामावली सार्वजनिक गरेको हो ।
मृत्यु हुनेमध्ये नाम खुलेका १५ जना पुरुष र १२ जना महिला रहेका छन् । त्यस्तै, २६ जना महिला र २७ जना पुरुष घाइते भएका छन् । सानीभेरी गाउँपालिकामा ६ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ भने आठविसकोट नगरपालिकामा ९ जना पुरुष र ९ जना महिलाको मृत्यु भएको छ ।
Categorized in राष्ट्रिय

