STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : ज्ञवाली

Janjati Khabar – रासस | २०७७ पौष १०, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताएका छन् । नेकपाको बिहीबार बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्  ।   

यही ५ पुसमा सरकारका सातजना मन्त्रीले राजीनामा दिएका थिए । प्रवक्ता ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्री नभएको स्पष्ट पारे । 'प्रधानमन्त्री काम चलाउ होइन, ‘फुलफेज’ प्रधानमन्त्री नै हो', उनले भने ।

उनले अब पार्टीको एकमात्र एजेण्डा सङ्गठन विस्तार र निर्वाचनको तयारी रहेको बताए । बैठकले यसअघि पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएकाेमा त्यो फिर्ता लिएको छ । उनले अर्को पक्षले गर्ने आन्दोलनको कुनै अर्थ नभएको स्पष्ट पारे । 'जनमत जुटाउन जान छोडेर आन्दोलनका नाममा जनतालाई थप पीडा दिनु भनेको जनताबाट पलायन हुनु हो', उनले भने, 'उहाँहरुलाई म आग्रह गर्न चाहन्छु त्यो आन्दोलनको निर्णय फिर्ता लिनुहोस् ।'

अहिलेका प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको ६४ प्रतिशत संसद्मा रहेकाले प्रधानमन्त्रीमाथि दलको विश्वास नटुटेको बताए । 'अहिले नेकपा पार्टी विभाजन भएको छैन । संसदमा ६४ प्रतिशत सांसद् रहेको दल अहिले पनि रहेको छ । उनीहरुले प्रधानमन्त्रीलाई विश्वास गरेको अवस्था छ', प्रवक्ता ज्ञवालीले भने । उनले विघटन भएको संसद्भित्र संसदीय दल नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलबाट हटाउने कुरै नआउने बताए । प्रवक्ता ज्ञवालीले अहिले प्रदेश सरकारबारे केही सोच नबनाएको समेत स्पष्ट पारे ।

Categorized in राजनीति