महानगरपालिकाले दिए टेकु र छत्रपाटी अस्पताललाई भेन्टिलेटर
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ ९, आइतबार
काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल अस्पताल टेकु र छत्रपाटी निःशुल्क चिकित्सालयलाई कोरोना संक्रमित विरामीहरुको उपचारमा प्रयोग हुने भेन्टिलेटर सहयोग प्रदान गरेको छ ।
शुक्रवार महानगरपालिका का मेयर विद्यासुन्दर शाक्यको रोहवरमा ती अस्पतालहरुलाई २—२ थान भीजी ७० मोडलका भेन्टिलेटर प्रदान गरेको महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकालाई यी उपकरण भगिनी सहर तिव्वतको ल्हासाले महामारी विरुद्धको लडाइँमा सघाउन पठाएको हो ।
सो अवसरमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीे, टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको उपस्थिती रहेको थियो । छत्रपाटी चिकित्सालय महानगरको कोविड अस्पताल हो ।
काठमाडौँ महानगरले यस अघि सरकारी र सामुदायिक गरी १२ वटा अस्पतालहरुलाई कोविडको उपचारमा क्षमता बढाउन विभिन्न खालका सहयोग गरिसकेको छ ।
छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ बेडको कोविड अस्पताल सञ्चालन अन्तिम तयारीमा पुगेको छ ।
Categorized in उपत्यका

