महानगरमा कांग्रेस पहिलाेे, एमाले शून्यमा
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १३, शुक्रबार
काठमाडौं - स्थानीय तह निर्वाचन-२०७९ अन्र्तगत काठमाडौं महानगरपालिकाको मत परिणाम आएसँगै देशका ६ वटै महानगराको नजिता सार्वजनिक भएको छ ।
देशभरका पालिकाको नतिजामा पहिलो बनेको नेपाली कांग्रेस महानगरमा पनि पहिलो नै बनेको छ । कांग्रेसले दुई वटा महानगर हात पारेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले एक-एक महानगर जितेका छन् । एक महानगर भने स्वतन्त्रको पोल्टमा गएको छ ।
स्थानीय तह निर्वाचनमा दोस्रो बनेको नेकपा एमालेले भने महानगरमा शून्य भएको छ । अघिल्लो निर्वाचनमा दुई वटा महानगर जितेको एमालेले यसपटक विरासत जोगाउन सकेन ।
२०७४ को निर्वाचनमा एमालेले काठमाडौं र पोखरा महानगर जितेको थियो । यसपटक पोखरा महानगर एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीले जितेको छ भने काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी भएको छ ।
यसपाली पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । उनले एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले हराए । आचार्यले ५८ हजार ८९३ मत पाएका छन् भने थापाले ५२ हजार ८४८ मत ल्याएका छन् ।
काठमाडौंमा भने स्वतन्त्र उम्मदेवार बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । कांग्रेस दोस्रो स्थानमा रह्यो भने यसअघि जितेको एमाले भने तेस्रो भयो । बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार दिएकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन् । एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे ।
अघिल्लो निर्वाचनमा विराटनगर र ललितपुर महानगरमा जितको कांग्रेसले यसपटक पनि विरासत जोगाएको छ । विराटनगरमा कांग्रेसका नागेश कोइराला र ललितपुर कांग्रेसका चिरिबाबु महर्जन निर्वाचित भएका छन् ।
Categorized in राजनीति

