महाशिवरात्रिमा सात लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन
Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १४, बुधबार
काठमाडौं - यस वर्ष महाशिवरात्रिको अवसरमा करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । बुधबार बिहानदेखि साँझसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बताए ।
“आधिकारिकरूपमा कति जनाले दर्शन गरे भन्ने कुरा प्रचारप्रसार समितिले भोलिमात्रै सार्वजनिक गर्छ । अहिलेसम्मको तथ्यांकलाई हेर्दा करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे,” उनले भने ।
कोषका प्रवक्ता रेवती रमण अधिकारीले दर्शनार्थीले भोलि बिहानसम्मै पशुपतिनाथको दर्शन गर्न पाउने बताए ।
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रिको अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।
उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए ।
मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्च पदस्थ अधिकारीले स्वागत गरेका थिए ।
महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखले पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।
Categorized in राष्ट्रिय

